कक्षा ११ बाटै पढ्न पाइने

|

चितवन : सामुदायिक विद्यालयमा पनि कानुन विषय पढाइ हुने भएको छ। पाठ्यक्र विकास केन्द्रले चितवनको भानु माविसहित देशैभरका ५ वटा सामुदायिक विद्यालयलाई यस वर्ष पहिलो पटक ११ कक्षामा कानुन विषय पढाउने अनुमति दिएको थियो।

चितवनसहित सिराहा, बुटवल, भैरहवा, पोखरा र काठमाडौंका एक/एक वटा विद्यालयले कानुन पढाउने अनुमति पाएको हो। भरतपुर महानगरपालिका २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन विषयको पढाइ सुरु गर्ने अनुमति पाएसँगै जिल्लामा पहिलो पटक कानुन पढाइ हुने भएको छ।

भानु माविले विद्यार्थी भर्ना सुरु गरेको विद्यालयका प्रधानाध्यापक विकास थापाले जानकारी दिए। यस वर्षबाट कक्षा ११ र १२ कक्षा सुरु गर्ने तयारी गरिरहेको विद्यालयले कक्षा ११ मा कानुन विषयको भर्ना पनि लिन सुरु गरेको हो। अहिलेसम्म १७ जना विद्यार्थीले कानुन विषय पढ्न फर्म भरेका छन्। थापाका अनुसार चितवन बाहिरका सुर्खेतबाट २, उदयपुर, सर्लाहीलगायतका जिल्लाका विद्यार्थीले पनि फर्म भरेका छन्।

आगामी साउन ५ गत्तेबाट कक्षा सुरु गर्ने विद्यालयले जनाएको छ। यस वर्ष बढीमा सय जनासम्म विद्यार्थी भर्ना गराउने विद्यालयको लक्ष्य छ। भर्नाका लागी एक विद्यार्थीले ९ हजार ५०० र मासिक शुल्क २४५० तिर्नुपर्ने विद्यालयले जनाएको छ।

११ कक्षाबाटै कानुन विषय पढ्न पाउने भएसँगै स्नातक गरिसकेपछि मात्रै एलएलबी पढ्न पाउने बाध्यता हटेको छ। अब ११, १२ कक्षा पढेपछि सिधै एलएलबी पढ्न पाउने व्यवस्थाले कानुन विषयमा विद्यार्थीको आकर्षण बढ्ने अधिवक्ता अचल साक्यले बताए। यसअघि संस्थागत विद्यालयमा ११ बाटै पढाइ हुनेगरेको भए पनि सामुदायिक विद्यालयले भने यसवर्ष पहिलोपटक अनुमति पाएको हो।

यस्तै, विद्यालयले कानुनसँगै १८ महिने जुनियर कम्प्युटर टेक्निसियन जेसिआइ र शिक्षा संकायमा पनि पढाइ सुरु गर्ने तयारी गरिरहेको छ। विद्यालयको शैक्षिक सुधार, विकासका लागि योजनाबद्ध रूपमा लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीलिप न्यौपानेले बताए।

२०१८ सालमा स्थापना भएको सो विद्यालयमा हाल ५०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २५ जना शिक्षक र ७ कर्मचारी गरी ३२ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.