मृतक मजदुरका परिवारलाई राहत दिने सहमति

|

  • चिरञ्जिबी घिमिरे

दमक : हिमालयन महालक्ष्मी चिया बगानमा काम गर्दै गरेकी एक मजदुरको मृत्यु भएपछि आन्दोलन उत्रिएका चिया मजदुरहरु आइतबारदेखि काममा फर्किएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चिया बगानमा चिया टिप्दै गर्दा शुक्रबार दमक १५ कि ४३ वर्षिय राजकुमारी सुनुवारको मृत्यु भएको थियो।

मृतक सुनुवारको परिवारलाई उद्योगले राहत रकम उपलब्ध गराउने सहमति बनेपछि मजदुहरु काममा फर्किएका हुन्।

मृतकका परिवारलाई पीडित पक्षलाई राहत दिनुपर्ने भन्दै चिया बगानमा कार्यरत मजदुरले शुक्रबारदेखि काम ठप्प पारेका थिए। शनिबार अबेर पीडित पक्ष, एमाले, कांग्रेस र माओवादी निकट ट्रेड युनियन तथा बगान ब्यवस्थापन पक्षबीच पीडितलाई १ लाख ५० हजार रुपैयाँ दिने सहमति बनेको चिया मजदुर दीपक फुयालले जानकारी दिए।

त्यस्तै परिवारका एक जनालाई निःशुल्क शिक्षा उपलब्ध गराउने र बगानमा स्थायी काम दिने सहमति भएको उनले जानकारी दिए।

शुक्रबार बिहान चिया टिप्दै गर्दा एक्कासी बेहोस भएपछि उपचारका लागि लैजाँदै गर्दा सुनुवारको मृत्यु भएको थियो। दुई वर्ष अघि सोही बगानमा कार्यरत ३० वर्षिय मदन भनिने गनु तिर्की उराउको रुखले किचेर मृत्यु हुँदा राहत स्वरुप चिया बगानले ६ लाख रुपैयाँ दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.