|

बारा : चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण बारामा सयौं घर डुबानमा परेका छन्। बाराको कलैया, निजगढ लगायतका मुख्य बजारहरू पनि डुवानमा परेका छन्।

निजगढमा सिँचाइका लागि बनाइएको कुलो र नाला बिना बनाइएका सडकबाट थुनिएर वर्षातको पानी करिब एक हजार बढी घरका घरभित्र पस्दा लाखौंका नोक्सानी भएको छ। पानी घरभित्र पस्दा भान्सामा खाना पकाउन नसक्ने अवस्था भएको छ।

घरका खाद्यन्न, लत्ताकपडा समेत भिजेर नोक्सान भएको निजगढ ८ का रोहित खड्काले बताए। लगातारको बर्षाका कारण बारामा झन्डै सातसय घरपरिवार बिस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बारामा केहीबेर अघिसम्म सात सय घर परिवार बिस्थापित भएका हुन्।

कहाँ के भयो 

जितपुरसिमरा उपमहानगरपालिका ८ रमौलीका ३५ घरपरिवारलाई धर्मशालामा सारिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका १० नयाँबस्तीका २५ घर परिवारलाई विद्यालयमा सारिएको छ। जितपुरसिमरा उपमहानगरपालिकाका २४ हरपुरका २५ घरपरिवारलाई विद्यालयमा सारिएको छ। त्यस्तै फेटा गाउँपालिका १ त्रिवेणीका ९० घरपरिवारलाई छिमेकी र विद्यालयमा सारिएको छ।

फेटा गाउँपालिका १ रजघटियाका ४० घरपरिवारलाई छिमेकीको घरमा सारिएको छ भने उनीहरुका पशुचौपायालाई विद्यालयमा सारिएको छ। त्यस्तै देबताल गाउँपालिका ५ रंगपुर्बा, देबताल गाउँपालिका ६ र ७ को जप्का, रंगपुर्वा र बेनौलीका २०० घरपारिवार विस्थापित भएका छन्। त्यस्तै बिश्रामपुर गाउँपालिका ४ बिश्रामपुर, खुदियाटोल डुबानमा परेको छ। त्यस्तै बंगरी खोला बस्दा बिश्रामपुर २ तिलझुकी र भरलियाका ४० घरपरिवारलाई सारिएको छ। त्यस्तै बिश्रामपुर ३ मुसर्वाका १६० घरपरिवारलाई पनि सारिएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए।

वर्षाका कारण जिल्लाका अधिकांश भूभाग डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरका अनुसार विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

घर-गोठ भत्कियो

वर्षाको कारण कोल्हवी नगरपलिका १ स्थित ठूलो बभनी टोलमा एक घर भत्केको छ। स्थानीयको लालमन चौधरीको घर भत्केको हो। घरमा लालमन चौधरी र उनका छोरा राम चौधरी सुतेकै अवस्थामा घर भत्किँदा छोरा राम घाइते भएको स्थानीय रामप्रित चौधरीले जानकारी दिए। त्यस्तै निजगढ ५ का खेजप्रसाद गौतमको गोठ भत्केको छ। गोठ पूर्णरुपले क्षतिग्रस्त भएको स्थानीय सुरथ पुरीले बताए।

अविरल वर्षाको कारण निजगढस्थित लालबकैया नदीमा आएको बाढीले ड्याम भत्काउदा नदी बस्तीतर्फ पस्ने खतरा बढेको छ। ड्याम भत्किन शुरु भएसँगै वडा नम्बर ९ जोखिममा परेको छ। वि.स. २०२८ सालमा पूर्व-पश्चिम मार्ग निर्माण गर्ने क्रममा सोभियत संघको सहयोहमा निर्मित पक्की ड्याम भत्किन शुरु भएपछि स्थानीय त्रसित भएका छन्।

एक जनाको मृत्यु

लगातारको वर्षाका कारण बारामा शुक्रबार एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार परवानीपुर गाउँपालिका १ मा घर पछाडि नालीमा डुबेर १८ महिने बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा अरबिन्द यादवका छोरा बिक्की यादव रहेको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार मनसुन सक्रिय हुने क्रम जारी रहेकाले जिल्लामा डुवान क्षेत्रमा सुरक्षा निकायको पहलमा बस्ती खाली गर्ने काम भईरहेको बताए।

धान रोप्न सहज

आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने क्षेत्रमा वर्षा भएपछि सहज भएको छ। वर्षाले रोपाई गर्न किसान व्यस्त भएका छन्। कृषि ज्ञान केन्द्रले वर्षाअघि ३० प्रतिशत रोपाई भएको जनाएको छ।

जिल्ला कृषि विकास अधिकृत जितेन्द्र यादवले वर्षाले रोपाई बढेको बताए। ‘तथ्यांक संकलन भइरहेको छ’ प्रमुख यादवले भने,‘वर्षादअघिसम्म ३० प्रशिसत मात्र रोपाइँ भएको थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.