सडकको आधा काम सकियो

|

पर्वत: संसारकै उच्च स्थानमा रहेको नेपालको तिलिचो ताल पुग्नका लागि अब मुस्ताङबाट सवारीसाधन लिएर जान सकिने भएको छ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँदेखि ५ किलोमिटर टाढा भसघ्यूङसम्म सडक विस्तारको काम भइसकेको मुस्ताङबाट निर्वाचित प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिए।

‘यस पटक विनियोजन भएको रकमले ठिनीबाट तिलिचो ताल पुग्ने सडक खण्डको आधा जति भागमा सडक लगेका छौँ।’ उनले भने, ‘अबको आर्थिक वर्षमा पनि यो काम पूरा गर्नका लागि यस पटक पनि गण्डकी प्रदेश सरकारबाट ६५ लाख रुपैयाँ विनियोजन भएको छ।’

५० लाख रुपैयाँ बजेट विनियोजन हुनु पूर्व नै ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो। सडकका लागि रकम आएपछि ताङदुङसम्मको सडकको स्तरोन्नती गरिएको छ भने ताङदुङबाट भसघ्यूङसम्म नयाँ ट्रयाक खोलिएको छ।

चालु आर्थिक वर्षमा आएको ५० लाख रुपैयाँले तिलिचो तालको मुस्ताङ जिल्लातर्फको आधार शिविरसम्म सडक पुगेकोमा अब आउने बजेटले झन्डै आधा काम हुनेछ। ठिनीबाट भसघ्यूङसम्म ५ किलोमिटर सडक निर्माण भएकोमा नयाँ बजेटले भसघ्यूङबाट पनि झन्डै ५ किलोमिटर टाढा रहेको नमुखलेकसम्म सडक

पुर्‍याईने गरी काम भइरहेको छ। सांसद गौचनका अनुसार तालमा पुग्ने उक्त सडक नमुखलेकसम्म मात्र बिस्तार हुने छ भने त्यहाँबाट तालमा पुग्नका लागि झन्डै ३ घण्टा पैदल यात्रा गर्नुपर्नेछ। 

सडक बने एकैदिनमा आउजाउ

ठिनीदेखि नमखुलेक पुग्न अहिले चार घण्टा हिँड्नुपर्छ। सडक पुगेपछि यात्रा अवधि एक देखि डेढ घण्टामा छोटो पर्नेछ। नमखुलेकदेखि तिलिचो ताल पुग्न तीन घण्टा र तालबाट नमखुलेक फर्कन दुई घण्टा लाग्छ। अहिले ठिनीदेखि दुई दिन पैदल हिँडेर तिलिचो ताल पुग्न सकिन्छ। यो सडकको काम पूरा भएपछि तिलिचो ताल अवलोकन गर्न जानेहरू मुस्ताङबाट एकैदिनमा आउजाउ गर्न सक्नेछन्। 

संसारकै अग्लो स्थानमा रहेको तालसम्म पुग्ने मोटर बाटो मुस्ताङबाट बिस्तार भएपछि मुस्ताङवासीहरू पनि हौसिएका छन्। यसै पनि धार्मिक र पर्यटकीय स्थलका रूपमा पहिचान भएकोले उल्लेख्य मात्रामा पर्यटकहरू पुग्ने गरेको मुस्ताङमा अब पर्यटकको चाप झनै बढ्ने स्थानीयको अपेक्षा छ। घरपझोङ गाउँपालिकाका प्रमुख आसबहादुर थकालीले पर्यटकीय हबका रूपमा रहेको मुस्ताङमा अब पर्यटकहरूको सङ्ख्या उल्लेख्य बढ्ने बताए।

‘संसारकै अग्लो ठाउँमा रहेको आकर्षक तालको अवलोकन गर्ने रहर सबैलाई छ। भौगोलिक कठिनाईका कारण त्यहाँ जान रहर भएर पनि जान नसकेकाहरू धेरै छन्।

अब मन ताल हेर्ने रहर भएकाहरू मुस्ताङ हुँदै सजिलै पुग्नेछन्।’ उनले भने, ‘ताल हेर्न जाने स्वदेशी र विदेशी पर्यटकहरू मुस्ताङमा नै बास बस्नै पर्छ। बिहान मुस्ताङबाट ताल हेर्न गएकाहरू फर्केर मुस्ताङ आइपुग्दा साँझ पर्छ, यसले मुस्ताङको पर्यटकीय विकासमा झनै टेवा दिने छ।’ 

ठिनी तिलिचो सडकका कारण जिल्लाका जोमसोम, ठिनी, मार्फा, स्याङ लगायतका ठाउँमा बढी फाइदा हुने होमस्टे सञ्चालक तथा पत्रकार निरज थिन थकालीले बताए। अब बाटो सजिलो भएपछि सबैभन्दा बढी भारतीय र त्यसपछि अन्य देशका बाह्य पर्यटकहरू भित्रिने उनको अनुमान छ। सडकको काम भइरहँदा सडकको आसपासमा पर्ने होमस्टे सञ्चालकहरू बढी हौसिएको थकालीको भनाई छ।

मनाङको नेस्याङ गाउँपालिकामा पर्ने तिलिचो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९  मिटरको उचाइमा रहेको छ। मुक्तिनाथ, तिलिचो, निलगिरीलगायत हिमालको फेदीमा रहेको तिलिचो ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ।

तिलिचो तालको अवलोकन गर्नका लागि मनाङ र मुस्ताङ दुवैतर्फबाट जान सकिन्छ। यी दुवै जिल्लाबाट पैदल यात्रा गरेर तालसम्म पुगिने गरेको भए पनि अब मुस्ताङबाट भने सवारीको सुविधा पुग्ने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.