सयौं बिघा तरकारी खेती डुब्यो, बजार मूल्य छोइनसक्नू

|

विराटनगर : अत्यधिक वर्षाका कारण  नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र नै डुबानमा परेको छ। वितरण केन्द्र नै डुबानमा परेपछि विराटनगर क्षेत्रमा विद्युत् वितरण बन्द गरिएको छ। 

प्राधिकरणको विराटनगर वितरण शाखाले शनिबार अबेर सूचना जारी गर्दै सेवा बन्द गर्ने जानकारी दिएको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालय हाताभित्र तथा प्रशासनिक भवनको कार्यालयभित्र एक फिट पानी जमेको प्राधिकरणले जनाएको छ।

पानी जमेपछि आइतबार इमरजेन्सी बाहेकका विद्युत् महसुलको काउण्टरसहित सम्पूर्ण सेवाहरु बन्द हुने जनाइएको हो। ‘वर्षाका कारण वितरण केन्द्र हेर्ने सम्पूर्ण क्षेत्र भित्र विद्युत सुचारु गर्न नसकेकाले यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र क्षमाप्रार्थी छ,’ उक्त सूचनामा भनिएको छ।

विराटनगरका विद्यालय तीन दिन विदा

यसैबीच अत्यधिक वर्षका कारणले पठनपाठन असहज भएको भन्दै विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई तीन दिनसम्म छुट्टी गर्न निर्देशन दिएको छ।

साउन एक गतेदेखि २४ गतेसम्मको वर्षे विदामा समायोजन हुने गरी आइतबार, सोमबार र मंगलबारका लागि छुट्टी गरिएको विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए।

‘साउन २४ गतेसम्मको वर्षे विदामा समायोजन हुने गरी आइबारदेखि नै सबै विद्यालय विदा गर्न हामीले पत्राचार गरेका छौं,’ खतिवडाले भने ‘अब साउन १७ गतेदेखि पुनः सबै विद्यालय सुचारु हुनेछन्।’

खतिवडाले वर्षाका कारण बाढी र डुबानका कारण विद्यार्थी आवतजावतमा समस्या भएको, डुबान पीडितहरु र गाइवस्तुहरुसमेत विद्यालयमा राखिएको कारण पठन पाठन गर्न हसहज भएको बताए।

विदासँगै कतिपय संस्थागत, सामुदायिक स्कुलले संचालन गरिरहेको पहिलो त्रैमासिक परीक्षाको दुई वटा विषयको परीक्षासमेत स्थगित भएको छ। उक्त परीक्षा विदा सकिएपछि पुनः गराइने विराटनगरस्थित पोखरिया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए।

सयौं बिघा तरकारी डुब्यो, बजारमा महँगी

मोरङको तरकारी उत्पादनको प्रमुख क्षेत्रका रुपमा रहेको कटहरीको सयौं हेक्टर तरकारी डुबेको छ। कटहरी गाउँपालिका र जहदा गाउँपालिकामा मात्र एक सय ५० हेक्टर तरकारी खेती डुबेको हो। जिल्लाको मधेसखण्डमा गरिएको चार सय हेक्टर भन्दा बढी तरकारी बाली अधिक वर्षाका कारण डुबेको छ।

विराटनगरसँग जोडिएको कटहरी र जहदा गाउँपालिका पछिल्लो समय तरकारी उत्पादनमा अग्रणी मानिदै आएको थियो। त्यस क्षेत्रमा उत्पादित तरकारी विराटनगरको ठूलो जनसंख्यालाई आपूर्ति गर्दै आएको थियो। पाँच दिनदेखि जारी अविरल वर्षाले तरकारी आपूर्ति बन्द भएको छ। तरकारी बाली पनि सबै डुबाएको छ।

कटहरी गाँउपालिकामा पर्ने लोहन्द्रा खोलामा पानीको सतह बढेर बस्ती र खेतीमा पसेपछि तरकारी लगायत सबै बाली डुबाएको छ। नजिकै रहेको जुडी खोलापनि बस्ती तर्फ बग्न थालेका छ। त्यसले पनि बालिमा नोक्नासी गरिरहेको छ।

मोरङको कटहरीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत एक सय १० हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ। ती सबै जमिनमा अहिले चार पाँच फिटसमम पानी जमेको छ। कतैकतै तरकारीका बोटको टुप्पा देखिन्छ भने धेरै ठाउँमा त तरकारीको बोट नै देखिँदैन।

कटहरी–४ नयाँ बजारका कृषक कोपिन्द्र सिंहले कटहरीमा मात्र एक सय १० हेक्टर व्यवसायिक तरकारी खेती डुबानमा परेको जानकारी दिए। उनका अनुसार स–साना क्षेत्रफलमा गरिएको थुप्रै तरकारी खेती पनि डुबेको छ।

कटहरीमा प्रधानमन्त्री कृषि परियोजना अन्तगरगत एक सय ९० जना किसानहरुले तरकारी खेती गर्दै आएका छन्। त्यसले विराटनगरको आवश्यकताको मुख्य हिस्सालाई सम्बोधन गर्दै आएको थियो। अहिले कटहरीका किसानहरुले घिरौला, कांक्रा, भिन्डी, बोडी, भान्टा, लौका, तितेकरेला लगायतका तरकारी खेति गरेका थिए। ती सबै डुबाएको सिंहले जानकारी दिए।

‘लगातारको वर्षाले गर्दा पानी जमेको खेतमा अब दुई दिन मात्र चर्को घाम लाग्यो भने सबै तरकारी मर्छ,’ किसान सिंहले भने, ‘डुवान क्षेत्रका ९० प्रतिशत तरकारी खेतीमा नोक्सानी पुगेकोले वर्षात् अवधि भरी तरकारीको उत्पादन लिन सक्ने अवस्था छैन।’

‘करिब  चार फिट पानी तरकारीमा बारीमा जमेर ताल जस्तो बनेको छ। हामीले लगाएको तरकारी पानी नसहने जातका तरकारी हुन्,’ सिंहले भने, ‘घाम लागेपछि सबै बोटको जरा कुहिन्छ, कटहरीका किसानलाई करोडौंको नोक्सानी भएको छ।’

कृषक सिंहले ढेड विघा क्षेत्रफलमा तरकारी खेती लगाएका थिए। एक हेक्टर भन्दा बढी जमिनमध्ये उनको छ कठ्ठामा भिन्डी, १० कठ्ठामा घिरौँला, आठ कठ्ठामा बोडी, सात कठ्ठामा करेला लगाएको उनले जानकारी दिए। ‘बिक्री गर्ने तयारीमा रहेको तरकारीमा खोला पसेको छ,’ उने भने ‘किसानलाई मात्र होइन बाढीले उपभोक्तालाई पनि मारमा पारेको छ।’

जहदा गाउँपालिका चारका नन्दकिसोर मरण्डीले १० कठ्ठा क्षेत्रफलमा लगाएको भन्टा, छ कठ्ठाको कांक्रा, छ कठ्ठाको बोढी र चार कठ्ठामा लगाइएको घिरौँला डुबानमा परेको बताए। लोहन्द्रा र जुडी खोलाको पानी खेतमा पसेको उहाँले जानकारी दिए। ‘बरबाद भयो के गर्ने यत्ति मेहनत गरेर लगाएको तरकारी बिक्रीको लागि तयारी थियो, यहि बेलामा बाढी आएर डुबाइदियो।’

प्रदेश सरकार कृषि तथा पशुपंक्षी निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले बाढीले तरकारी लगायत अन्य बालीमा भएको नोक्सानीको तथ्यांक पठाउन सबै कृषि ज्ञान केन्द्रहरुलाई निर्देशन गरेको जानकारी दिए। उनले पानीले विशेष गरेर प्रदेश एक को झापा, मोरङ र सुनसरीको तराई खण्डमा गरिएको तरकारी खेतीमा क्षती पुर्‍याएको बताए।

उनले तथ्यांक नआएसम्म कति क्षति भयो भन्‍न नसकिने समेत बताए। प्रदेश सरकारले तरकारी उत्पादनमा कुनै पकेट, ब्लक आदि बनाएर तरकारी खेती नगरेका कारण कति क्षेत्रफलमा तरकारी खेती गरिएको छ भन्‍ने कुनै जानकारी गराउन सक्ने अवस्था नरहेको उनले बताए।

यद्यपि प्रधानमन्त्री कृषि परियोजना लगायत अन्य कार्यक्रम मार्फत भइरहेको खेतीको बारेमा साउन पहिलो साताभित्र सबै तथ्यांक आउने उनको भनाइ छ।

विराटनगरमा तरकारी आपूर्ति हुने अर्को प्रमुख ठाँउ भनेको दक्षिणी सुनसरीका गाउँहरु हुन्। त्यहाँबाट दैनिक दशौं मेट्रिकटन तरकारी विराटनगरमा बिक्रीकालागि ल्याइन्छ। यो झरीले त्यहाँका किसानका खेतीपनि डुबाएको छ। ती क्षेत्रबाट पनि विराटनगरमा तरकारीको आपुर्ती भइरहेको छैन।

विराटनगरमा तरकारी महँगियो

पाँच दिनदेखिको अविरल झरीका कारण विराटनगरमा तरकारीको अभावसँगै मूल्य पनि आकासिएको छ। बजारमा तरकारीको अभाव देखिन्छ भने भएका तरकारी पनि किनिसक्नु छैनन्।

शनिबार विराटनगरमा घिरौंला प्रतिकिलो ५० रुपियाँमा बिक्री भइरहेको छ। वर्षा हुनु अघि घिरौंला २० रुपियाँ किलो थियो। भाण्टा प्रतिकिलो एक सय, बोडी प्रतिकिलो एक सय ६०, पर्वल प्रतिकिलो ८०, काउली प्रतिकिलो एक सय, भिण्डी प्रतिकिलो एक सय रुपैयाँ, पिडाँलु प्रतिकिलो ६०, स्कुस प्रतिकिलो ६०, फर्सि प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ।

हरियो सागपात बजारमा भेटिँदैन। यसअघि भाण्टाको मूल्य प्रतिकिलो ४०, भिण्डी ३०, पिडालु ३०, स्कुस ३०, फर्सी ४० रुपैयाँ थियो । केही दिन वर्षा जारी रहेको खण्डमा तरकारीको पुरै अभाव हुने व्यवसायीहरुले बताएका छन्।

अहिले पहाडबाट आएको तरकारीले बजारको माग धानिरहेको छ । पहाडबाट काउली, बन्दागोभी, मुला, स्कुस, भेडेखुर्सानी आदि तरकारीको आपूर्ति भइरहेको छ। भारतबाट पनि यतिबेला बजारमा तरकारी नआएको गुद्रीमण्डीका व्यापारीहरुले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.