|

कञ्चनपुर : मानवीय क्षति न्यूनीकरण गर्नका लागि कञ्चनपुरको मछेली नदीको सतह मापनका लागि सौर्य ऊर्जामा आधारित ‘टेलिमेट्रिरिक सिस्टम’ (स्वचालित प्रणाली) जडान गरिएको छ। ठूलो जलाधार भएको मछेली नदीमा आउने बाढीले वर्षेनी  धनजनको क्षति गर्दै आएकाले न्यूनीकरण गर्नका लागि आधुनिक स्वचालित प्रणाली जडान गरिएको हो।

नदीको उद्गम स्थान कैलालीको गोदावरी नगरपालिका १२ कोलमोडा चौकी क्षेत्रमा सतह मापनका लागि स्वचालित प्रणाली जडान गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए। रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाले जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी ‘टेलिमेट्रिरिक सिस्टम’ जडान गरेको संयोजक घिमिरेले बताए।

‘टेलिमेट्रिरिक सिस्टम’ जडानका लागि संभाव्यता अध्ययन गर्दा कोलमोडानै उपयुक्त रहेको जल तथा मौसम विज्ञान विभागले सिफारिस गरे पछि जडानको कार्य पूरा गरेका छौं', उनले भने, ‘कञ्चनपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट समेत सोही स्थानमा जडान गर्ने निर्णय भएको थियो।’

स्वचालित पूर्व सूचना प्रणालीको माध्यमबाट मछेली नदी प्रभावित कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, वेलौरी नगरपालिका र पूर्नवास नगरपालिकाका तटीय क्षेत्रका समुदायको सम्भावित जनधनकाो क्षति न्यूनीकरण गर्न सकिने भएको छ।

 

मछेली नदीले वर्षेनी ठूलो आर्थिक क्षति गर्नुको साथै मानवीय क्षति पनि गर्ने सम्भावना उच्च रहेको छ। नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखाले विगत केही वर्षदेखि कञ्चनपुर जिल्लामा हुन सक्ने सम्भाव्य क्षतिलाई बाढी पूर्व सूचना प्रणालीका माध्यमबाट कम गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न मछेली नदीमा म्यानुयल गेज स्टेशनहरू संचालित रही पूर्व सूचनाका कार्यहरू गर्दै आएको थियो। जुन पुरानो प्रविधि र संरचना थियो।

नयाँ आधुनिक स्वचालित प्रणाली जडान भएपछि बाढीको जोखिमबाट मानवीय र आर्थिक क्षति हुनबाट जोगाउन सकिने छ। स्वचालित नदीय सतहबारे जानकारी जल तथा मौसम विज्ञान विभागको वेवपोर्टलमा पनि हेर्न सकिने संयोजक घिमिरेको भनाई रहेको छ। ‘टेलिमेट्रिरिक सिस्टम’ जडान गर्ने कार्य रियल टाइम सर्भिस ललितपुरले गरेको हो।

रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाबाट ‘टेलिमेट्रिरिक सिस्टम’ जडान गर्नका लागि छ लाख ८३ हजार रकम लगानी गरिएको छ। स्वचालित जलमापन केन्द्र स्थापना तथा सूचना संकलन प्रणालीका लागि टेलिमेट्रिरिक सिस्टम, सोलार पावर्ड, सोलार चार्जर कन्ट्रोलर, डियुल सिम मोडेम, भोल्टेज मोनिटरिङ लगायतका उपकरणको प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.