|

काठमाडौं :  शुक्रबारदेखिको अविरल वर्षापछिको प्रदेश २ का बाढी-डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले चिकित्सकसहितको टोली पठाउने भएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले तीन स्थानमा समन्वय केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले बाढी प्रभावित क्षेत्र पथलैया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको हो।

टोलीमा मेडिकल अधिकृतसहित तीन जना रहने स्वास्थ्य आपत्तकालीन तथा विपद् ब्यवस्थापन इकाई  प्रमुख चुडामणि भण्डारीले बताए। पथलैया समन्वय केन्द्रले बारा, पर्सा र रौतहट, बर्दिवास समन्वय केन्द्रले सर्लाही, महोत्तरी र धनुषा तथा लहान समन्वय केन्द्रले सिरहा र सप्तरी बसेर त्यस क्षेत्रको अध्ययन सम्पूर्ण स्वास्थ्य अवस्था अध्ययन गरी केन्द्रमा रिपोर्टिङ गर्ने छ।

तीनै समन्वय केन्द्रको रिपोर्ट अनुसार योजना बनाइने इकाइ प्रमुख भण्डारीले बताए। ‘उपचार गर्न भन्दा पनि त्यहाँको स्वास्थ्य सेवा र केन्द्रबाट गर्नुपर्ने आवश्यक प्रबन्धको अनुगमन गर्न चिकित्सकको टोली सोमबार त्यसतर्फ जानेछ', उनले भने।

यस्तै, ती समन्वय केन्द्रलाई प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर परिचालित गरिने भएको छ। समन्वय केन्द्रका लागि स्वास्थ्य सेवा विभागले संयोजन गरी सोमबारै त्यस क्षेत्रमा पठाइने भण्डारीले बताए।

आपतकालिन तथा विपद इकाइमा आएको पछिल्लो विवरण अनुसार बाढीका कारण रौतहटको जिल्ला जनस्वाथ्य कार्यलय डुबानमा पर्दा त्यहाँको मेडिकल स्टोरका केही औषधि काम नलाग्ने भएका छन्। रौतहटसहित सर्लाही र महोत्तरीका स्वास्थ्य संस्थाहरु पनि जलमग्‍न भएका छन्।

यस्तै भोली जाने टोलीले केही अत्यावश्यक औषधि समेत लाने इकाइ प्रमुख भण्डारीले बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रको अवस्था अनुसार केन्द्रका ठूला अस्पताल वीर, धुलिखेलल र बानेश्वरको सिभिल  अस्पतालका चिकित्सकलाई बाढी प्रभावित क्षेत्रमा पठाउन तयारी अवस्थामा रहन निर्देशन दिइएको भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.