|
file Photo

विराटनगर : मोरङको कटहरी गाउँपालिकाका इन्जिनियरले उपभोक्ता समितिसँग घुस लिँदै बाटोको प्राविधिक पास गरिदिने गरेको खुलासा भएको छ।

निर्वाचित जनप्रतिनिधिले योजना बाँडेर निर्माण तथा स्तरोन्‍नति गरिएका सडकमा उपभोक्ताले चित्त नबुझाए पनि इन्जिनियरले घुस लिएर बाटो पास गर्ने गरेको प्रमाण फेला परेको हो। घुस लिएर बाटो पास गरिदिने गरेको ३ मिनेट ४२ सकेण्डको भिडियो फेला परेको छ।

कटहरी गाउँपालिका-२ नम्बर वडाको कदम टोलीदेखि साझा मार्ग (होलाई मार्ग) को ७६६ मिटर बाटो पास गर्नका लागि सब-इन्जिनियर खेमराज सुवेदीले ५० हजार रुपैयाँ लिएको आरोप लागेको छ। कार्यालयमै उपभोक्ता समितिमार्फत ५० हजार रुपैयाँ बुझेको भिडियो बाहिएसँगै स्थानीयले तत्काल कारवाहीको मागसमेत गरेका छन्।

गाउँपालिकाको १५ लाख रुपैयाँ र श्रमदानसहित १७ लाख रुपैयाँले ७६६ मिटर सडकमा माटो पुर्ने, ग्राभेल गर्ने र दुई सय मिटरसम्म एकतर्फि रिटेनिङ वाल लगाउनु पर्ने थियो। यो सडकको अनुगमनको जिम्मेवारी वडा सदस्य जयप्रकाश पासवानलाई दिइएको थियो। पासवानको समेत मिलेमतोमा प्राविधिक पास गर्ने इन्जिनियरहरूले रकम बुझेर बाँडफाँड गर्ने गरेको स्थानीयको दावी छ।

वडा सदस्यले सडक योजना बाँडफाँड गरेर निर्माणको अनुगमन गर्ने जिम्मेवारी लिइएका अधिकांश योजना पास गराउनका लागि इन्जिनियरलाई रकम दिइएको समेत खुलेको छ।

कटहरी गाउँपालिका–२ वडाकार्यपालिका प्रतिनिधिले सडक योजना बाँडफाँड गरेर उपभोक्ता समितिमार्फत निर्माण तथा स्तरोन्नति गरेका सबै सडक कमसल निर्माण गरेर घुस दिँदै पास गर्दै गरिएको स्थानीयको आरोप छ।

सब-इन्जिनियर सुवेदीले बाटो पास गर्नका लागि इन्जिनियर प्रकाश गुप्ता र गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई समेत मिलाउनु पर्ने भन्दै रकम माग गर्दै गरेको भिडियो भेटिएको हो। तर, सुवेदीले भने आफूलाई फसाउने नियतले भिडियो खिचिएको भन्दै राम्रो काम गर्नेलाई सबैले खेद्ने गरेको दावी गरे। उनले झुक्याएर भिडियो बनाइएकोले समाचारको विषय नबनाइदिन आग्रहसमेत गरे। ‘मलाई फसाउन खोजिएको रहेछ, समाचार नबनाइदिनुहोस्, बरू भरे भेट्छु’ सुवेदीले भने, 'मैले रकम मागेर दिइएको हैन।'

निर्वाचित चारजना वडा सदस्यले अनुगमनको जिम्मा लिएका चारवटा सडक योजना कमसल र गुणस्तरहीन भएपछि स्थानीयले विरोध गर्दै आएका थिए। अनुगमन गर्ने जिम्मेवारी पाएका प्रतिनिधि र प्राविधिकको मिलेमतो रहेको आशंका गर्दै यस अगाडिसमेत छानबिनका लागि माग गरिएको थियो।

गाउँपालिकाले सडक निर्माणका लागि २० फिटको मापदण्ड निर्धारण गरेको छ। ढल तथा नालाबाहेक २० फिटको बाटो बन्नुपर्ने भए पनि १६ फिटका बाटाहरूमा ग्राभेल गरिएको र कमसल निर्माण गरिएको स्थानीयको आरोप, अन्तिम किस्ता लिँदा सब-इन्जिनियर सुवेदीले घुस लिएसँगै प्रमाणितसमेत भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.