स्थानीय भन्छन् : कोशी त आउँछ जान्छ, समाचारले सताइरहन्छ

|
कोशी ब्यारेज क्षेत्र

 

  • कृष्ण बहाब भट्टराई

इटहरीः बर्खा लाग्नेबित्तिकै देशका ठूला सञ्चारमाध्यमले सप्तकोशीमा आउने बाढी र कोशी ब्यारेजलाई ठूलै प्राथमिकता दिएर समाचार प्रकाशित गर्छन्।

अरुबेला सञ्चारमाध्यमको नजरमा नपर्ने सुनसरीका राजाबास, प्रकाशपुर, मधुवन, हरिपुर, गोबरगाडालगायतका कोशी नदीले छुने ठाउँको नाम बर्खाको समयमा सञ्चारमाध्यमका हेडलाइन बन्ने गर्दछन्।

कोशी नदीमा पानीको बहाब बढ्यो भनेर आउने हेडलाइनहरूले कोशी आसपासका बासिन्दालाई त्यति छुँदैन। रातदिन कोशीको बहाब हेर्दै आएका स्थानीयहरू कोशीमा पानीको आयतनभन्दा कटानदेखि आत्तिने गर्दछन्। 

उनीहरू कोशीमा पानी बढेको माचार सुनेपछि आत्तिएर फोन गर्ने आफन्तलाई सम्झाउँदा हैरान हुन्छन्। स्थानीयलाई कोशीमा पानी बढेकोमा उत्ति चिन्ता हुँदैन। बाढीले कटान थाल्यो भने बाँध फुटेर आउने डर हुन्छ। जसले गर्दा स्थानीय कटान शब्ददेखि नै त्रसित छन्।

‘ए! भाइ कोशीमा पानि बढेको भनेर समाचार कसले दिन्छ हँ?’ कोशीको फोटो लिइरहेको बेला थहाकर्मीलाई स्थानीयले सोधे, ‘छोराले बाहिरबाट फोन गरेर सोधेको सोध्यै छ। हिजो त बिदा मिलाएर पो आउँछु भन्दै थियो।’

ब्यारेजका ढोका खोलिएका समाचारदेखि उनी वाक्क भएका छन्। ‘कटान लागेकै छैन। पानी त कोशीमा बढिहाल्छ नि। बहाब बढ्यो। कोशीका ढोका खोलिए भनेर लेख्दा आफन्त बढी आत्तिन्छन्। फोन गरेको गर्यै छन्’, उनले भने, ‘हामी आनन्दले सुतिरहेकाछौँ। बाहिरबाट आउने कर्मचारीलाई मात्र सोध्छन्। नि समस्याबारे हामीलाई पनि त सोध्नुपर्यो नि! कत्तिको डरमर्दो अवस्था छ बुझ्नुपर्यो नि!’

प्रायः कोशी आसपास बस्ने स्थानीय बढेको पानीले भन्दा समाचारबाट त्रसित हुने गर्दछन्। ‘सप्तकोशी हो, ७ ओटा नदी मिसिएर आउँछन्। पानी त बढ्ने घट्ने भइहाल्छ नि। सूचना लिनु त ठीकै हो। तर सूचनालाई हदै तोडमोड गर्न भएन नि’, स्थानीय आशीष राईले भने, ‘कति पानी कोशीले थाम्न सक्छ? कटान लाग्दा बढी डर हुन्छ कि बहाब बढ्दा समस्या हुन्छ? त्यो पनि जानकारी दिनुपर्यो नि।’

 कोशीमा पानीको बहाब बढे पनि कटानको डरलाग्दो समस्या भने यो वर्ष देखिएको छैन। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले भने, ‘श्रीलङ्का टापुतिर भने अलिअलि काटेको रहेछ। कोशीमा अरुतिर कटान लागेको जानकारीमा छैन।’

निकास नहुँदा डुबानमा

कोशी किनारका प्रकाशपुर, मधुवन राजाबासलगायतका क्षेत्रका स्थानीयलाई अहिले कोशीभन्दा पनि लगातार परेको पानीको निकास नभएर समस्या परेको छ। लगातार परेको पानीको निकास नहुँदा प्रकाशपुर र मधुवनका क्षेत्र डुबानमा परेका छन्।

भौतिक संरचना निर्माण गर्दा निकासको उचित प्रबन्ध अभावमा डुबान हुने गरेको छ। झुम्का–कोशीटप्पु सडक बनाउँदा पानी निकासको प्रबन्ध नगरेकाले डुबानमा परेको स्थानीय बताउँछन्। 

‘कोशीको समाचार बारम्बार आइरहेको छ। तर परेको पानीले डुबान हुँदा बोल्दिने कोही छैन’, स्थानीय कपिल आचार्यले भने, ‘बरु बाटो बनाउँदा कल्भर्ट नबनाएकाले गाउँमा डुबान भएको हो भनेर लेख्नु नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.