रुकुम : पश्चिम चौरजहारी नगरपालिकाको एक वडाले जनप्रतिनिधिको तलब भत्ताबाट विद्यार्थीलाई पोशाक वितरण गरेको छ। नगरपालिकाको वडा नं. ३ ले आधारभूत विद्यालय अन्तरगत कक्षा ६, ७ र ८ का विद्यार्थीलाई जनप्रतिनिधिको तलब भत्ता काटेर पोशाक वितरण गरेको हो।
नगरपालिकाले अघिल्लो शैक्षिक वर्षदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण गर्दै आएको छ। नगरपालिकाले कक्षा ५ सम्म पोशाक वितरण गरेपछि वडाले आधारभूत तहलाई जनप्रतिनिधिको तलबबाट पोशाक वितरण गर्ने गरेको वडा अध्यक्ष लालबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार वार्षिक ७० हजार तलब भत्ताबाट विद्यार्थीलाई पोशाक वितरण गर्ने गरिएको हो। ‘नगरपालिकाले कक्षा ५ सम्म मात्रै दिने गरेको छ’, उनले भने, ‘ हामीले वडाको निर्णय गरेर अघिल्लो शैक्षिक वर्षदेखि नै कक्षा ८ सम्म पोशााक वितरण गरेका छौँ।’
वडाको स्यालखोलामा एउटा मात्र जनज्योति आधारभूत विद्यालय छ। विद्यालयमा अहिले कक्षा ६, ७ र ८ मा ६५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।