|

सिरहा : पछिल्लो बिहीबारदेखि परेको वर्षासँगै आएको बाढीको कारणले सिरहाका चार ठाउँमा दुई बालिकासहित पाँचजनाको मृत्यु भएको छ। बाढीको कारणले सिरहाको सिरहा नगरपालिका १५, १६, मिर्चैया नगरपालिका ४ र नरहा गाउँपालिकामा गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहा प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले  सिरहा १६ पटेर्वामा बाढीमा आइतबार एक ३० वर्षीया महिलाको शव भेटिएको र सनाखत नभएकाले सिरहा अस्पतालमा ल्याएर राखिएको बताए। त्यही दिन सिरहा १५ सुखचैना गाउँको पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय भारतीय किशोर बलि साहको शव खोजी भइरहेको उनले बताए।

 त्यस्तै, उदयपुर घर भई सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुरस्थित संस्थागत विद्यालयमा कार्यरत करिब ५५ वर्षीय सोभित कटुवालको पनि मृत्यु भएको छ। विद्यालयको काम सकेर डेरा फर्किने क्रममा बाढीमा चिप्लिएर घाइते भएका कटुवालको उपचार गर्न लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले उल्लेख गरे। उनका अनुसार मिर्चैया नगरपालिका ४ मा ११ वर्षीया रागिनी कुमारी महतोको शनिबार र ५ वर्षीया प्रियङ्का साहको पानीमा डुबेर मृत्यु भएको छ।

तीन दिनअघि शनिबार कमलाको बाढीले बगाएका कल्याणपुर नगरपालिका ६ भोक्राहा गाउँका ५५ वर्षीय कामेश्वर यादव सीमावर्ती भारती गाउँ झररपट्टिमा भेटिएका छन्। नदी किनारमा राखिएको डुङ्गा हेर्न जाँदा बाढीले बगाएका यादवलाई आइतबार सीमावर्ती भारतीय बजार जयनगर नजिकै रहेको झररपट्टिी गाउँमा सकुशल फेला पारेपछि सिरहा ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लाका सबै स्थानीय तहमा गरी वर्षाले जमिनमा जमेको पानी र बाढी कारणले करिब पाँच हजार घर डुबानमा परेको जानकारी दिएका छन्। प्रजिअ अधिकारीले बाढी र जमिनको पानीले सिरहा नगरका  कमला तटीय क्षेत्रमा पर्ने दुई सय ३१, मिर्चैयामा ६, कल्याणपुरमा ५०, कर्जनहामा ६० र लहानमा ६ गरी तीन सय ४४ घर पूर्ण रुपले क्षति भएका छन्।

बाढी र डुबानले जिल्लाका विभिन्न ठाउँमा गरी दुई हजार पाँच सय ३८ आंशिक क्षति भएको जानकारी दिंदै बाढीको कारणले डुबानमा फसेका दुई हजार एक सय ९३ जनाको उद्धार गरिएको उल्लेख गरे। बाढी र डुबान पीडितहरुलाई जिल्लाको बन्दीपुर, निर्दना, सारश्वर, लहानसहित विभिन्न आठ ठाउँका विद्यालयमा आश्रय दिइएको सिरहा रेडक्रसका अशोककुमार यादवले बताए।

बाढी र टुबान पीडितहरुको यकिन तथ्याङ्क संकलनका लागि आइतबार सम्पन्न जिल्ला विपद् व्यास्थापन समितिको बैठकले प्रशासकीय अधिकृत भवेश्वर झाको संयोजकत्वमा प्रहरी, रेडक्रस तथा जिल्ला प्रशासनका प्रतिनिधिसहित चार सदस्यीय जिल्ला स्तरीय तथ्याङ्क तथा सूचना व्यवस्थापन उपसमिति गठन गरिएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.