|

दमक,झापा : धान खेतीका लागि प्रख्यात रहेको झापामा झण्डै एकसातादेखि रोपाइँ ठप्प छ।

असारको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपरेको कारण किसानले रोपाइँ गर्न पाएका थिएनन्। तर असारको अन्तिम साता लागेसँगै शुरु भएको लगातारको झरीले रोपाइँ ठप्प भएको हो। खेतीयोग्य जमिन बाढीले पुरेसँगै रोपाइँ ठप्प मात्रै भएको छैन खडेरीका बावजुद रोपिएको धान समेत पुरिएपछि किसानको पिरलो बढेको छ

झापा कमल गाउँपालिका ६ की लक्ष्मी आचार्य भनिन् ‘अस्ति पानी पर्दैन होला भन्दै खडेरी सहेर पनि रोपियो। तर त्यसपछि भएको डुवानले सवै रोपो पनि खाई सक्यो।’ घाम चर्किएका बेला मोटर चलाएर रोपिएको धान झण्डै एक सातासम्म दर्किएको झरीले खाएको उनले सुनाइन्। यस्तै गौरीगञ्ज १ कृष्ण पौडेल रोपेको धानमा समेत बाढीले बालुवा हालेपछि फेरि रोप्नुपर्ने अवस्था भएको बताउँछन्। ‘अझै खेतमा डुवानले छोडेको छैन। पस्दा बालुवा मात्रै छ’ उनले भनिन्, ‘फेरि पो धान रोप्नु पर्ने जस्तो भएको छ खेतमा।’

६५ हेक्टर पुरियो

झापाका बिभिन्न खोला नदीमा आएको बाढीका कारण खडेरीका वावजुद किसानले रोपाइँ गरेको ६५ हेक्टर क्षेत्रफलको धान पुरिएको छ। धान खेतीमा सवै भन्दा बढी क्षति कमल गाउँपालिकामा भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार कमल गाउँपालिकामा रोपिएको २५ हेक्टरको धान खेती बाढीले बालुवा हालेर पुरेको हो।

कार्यालय प्रमुख शालिकराम भट्टराईका अनुसार अर्जुनधारा नगरपालिकामा समेत २२ हेक्टरमा गरिएको रोपाइँ पुरिएको छ। यस्तै भद्रपुरमा १५ र बाह्रदशीमा ३ हेक्टरमा गरिएको रोपाइँ पुरिएको हो। यस्तै बाह्रदशी गाउँपालिकामा संञ्चित ८ मेट्रिक टन अन्न समेत नष्ट भएको छ। असारको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपरेका कारण किसानले खडेरी सहेरै भए पनि रोपाइँ गरेका थिए। तर पछिल्लो ४ दिनमा भएको लगातारको झरीका कारण खेती क्षेत्र डुवानमा परेका कारण किसानले रोपाइँ गर्न पाएका छैनन् भने रोपिएको धान पनि पुरिएको हो। 

रोपाइँमा ढिलाई

लामो समय वर्षा नभई लगातार परेको झरीका कारण झापामा धान रोपाइँमा समेत ढिलाई भएको छ। गतवर्ष असार मशान्त सम्ममा ६० प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको थियो। तर यस वर्ष यसै अवधिमा ४२ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ। तर अब ५ दिन झरी रोकिने हो भने रोपाइँ क्षेत्रफल ८० प्रतिशत भन्दामाथि पुग्ने ज्ञान केन्द्रको भनाई छ। झापामा ९० हजार हेक्टर धान खेतीयोग्य क्षेत्रफल रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.