साढे ३ हजार घर ध्वस्त, सरकार मौन

|

जनकपुरधाम : बाढी र डुबानबाट प्रदेश २ का आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका छन्।बाढीले घर भत्काएपछि उनीहरु विस्थापित भएका हुन्।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी महोत्तरीमा ५ हजार २ सय परिवार र सबभन्दा कम धनुषामा २ सय ७९ घरपरिवार मात्र विस्थापित भएका छन् । 

सप्तरीमा ३ हजार, सिरहामा २ हजार ५३४, सर्लाहीमा २ हजार १०५, रौतहटमा १ हजार, बारामा १ हजार ३२४ र पर्सामा २ हजार ५७२ परिवार विस्थापित भएका छन् ।

प्रदेश २ का आठ जिल्लाका ३ हजार ५ सय ३० परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ।सबभन्दा बढी सिरहामा १ हजार ११ घर बाढीले भत्काएका छन् । 

कमलाको बाढी गाउँ पसेका कारण बढी घर सिरहामा भत्काएको हो।प्रदेश प्रहरीको तथ्यांक अनुसार सप्तरीमा ५०, धनुषामा २४, महोत्तरीमा २ सय, सर्लाहीमा ३३, रौतहटमा ४ सय, बारा र पर्सामा ६÷६ घर बाढी तथा बर्षाले भत्काएको छ ।

यस्तै आठ जिल्लाका ६ लाख ७९ हजार ३१५ मानिस बाढी तथा वर्षाबाट प्रभावित बनेका छन्।सप्तरीमा १२ हजार, सिरहामा ५ हजार २३२, धनुषामा २१ ह्जार ५६८, महोत्तरीमा २ लाख, सर्लाहीमा १ लाख २५ हजार, रौतहटमा ३ लाख, बारामा ५ हजार ५१५ र पर्सामा १० हजार मानिस बाढीबाट प्रभावित बनेका छन् ।

कयौं सडक बाढीले बगायो

लगातारको बर्षाले प्रदेश २ का दर्जनौं मुख्य सडक बगाएपछि अबरुद्ध बनेको छ।प्रदेश प्रहरीका अनुसार महोत्तरी– जनकपुर सडक र बर्दिबास–जलेश्वर सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो।ठाउँ ठाउँमा बाढीले सडक भत्काएका कारण आवत जावत ठप्प भएको छ ।

यस्तै गौर– चपुर सडक खण्ड र गरुडाबाट कटरिया मौलापुर जोड्ने सडक पनि अवरुद्ध बनेको छ।रौतहटकै देवाही गोनाही– मौलापुर सडक र गौर– राजदेवी नपा सडक पनि अवरुद्ध बनेको छ।गौरबाट अन्य स्थानीय तह पुग्ने सडकहरु पनि अवरुद्ध छ ।

यसबाहेक गाउँघरका सडकहरु समेत बाढीले ध्वस्त पारेको छ।एक स्थानीय तहबाट अर्को स्थानीय तह पुग्ने अधिकांश सडक बाढीले बगाएको प्रदेश प्रहरीले जनाएको छ । 

जनकपुरबाट दर्जनौं गाउँको सम्बन्ध टुटेको छ।अहिले जनकपुरबाट कमला नगरपालिका, विदेह नगरपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत जाने सडक ठाउँ ठाउँमा बाढीले ध्वस्त बनाएपछि आवत जावत ठप्प भएको छ ।

राहत वितरण हुँदै

जिल्ला विपद् व्यवस्थापन समिति मार्फत अहिले प्रदेश २ का आठै जिल्लामा राहत वितरण कार्य जारी छ।बाटो अवरुद्ध भएका कारण धनुषाको गणेशमान जनकनन्दनी गाउँपालिकामा बाढी प्रभावितलाई नेपाली सेनाले हेलिकप्टरबाट राहत बाँडेको छ।

प्रदेश २ का आठै जिल्लामा बाढी प्रभावितलाई राहत वितरण कार्य भइरहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले जानकारी दिए ।

क्षतिबारे सरकार मौन

राहत वितरणभन्दा पनि बाढीले भत्काएको घर अविलम्ब निर्माण गर्नुपर्ने देखिएको छ।प्रदेश २ सरकारले मृतकहरुलाई ३ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेपछि पूर्ण रुपमा घर भत्काएपछि विस्थापित भएकाहरुको विषयमा केहि बोल्न सकेका छैन।

प्रदेश सरकार क्षतिग्रस्त घरबारे मौन देखिन्छ।प्रदेश २ मा साढे तीन हजार घर पूर्ण रुपमा क्षति ग्रस्त बनेपनि सरकार यसबारे केहि नबोल्नु दुःखद भएको सिरहाका सामाजिक अभियन्ता धिरेन्द्र साहले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.