उद्योग व्यवसायको विषयमा सरकार नबोलेको गुनासो

|

काठमाडौं : लगातारको वर्षाले धेरै उद्योग संचालन हुन नसक्ने भएपछि उद्योगी व्यवसायीहरुले कर, सावाँ र व्याज भुक्तानीको समय थप्‍न सरकारसँग माग गरेका छन्। उनीहरुले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग यस्तो आग्रह गरेका हुन्।

बाढी पहिरोको कारण ठूलो जनधनको क्षति भएको अवस्थामा रकम उठाउने र तिर्ने भन्दा अन्य काममा ध्यान पुगेको अवस्थामा सरकारले समस्या बुझ्नुपर्ने व्यवसायीको माग छ।

‘हामी कर पनि तिर्छौं। सावाँ व्याज नतिर्ने कुरा भएन, तर अहिलेको अवस्थालाई मध्यनजर गरेर दुई सातासम्म समय थप्नु पर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी प्रवलजंग पाण्डेले भने, 'पहाडतिर पहिरोको डर छ। तराईमा बाढीका कारण उद्योग चल्न सकेका छैनन्। यस्तो अवस्थामा हाम्रो समस्या सरकारले बुझ्छे अपेक्षा लिएका छौँ।’

मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योगी पवन सारडाले उद्योगी व्यवसायीलाई परेको समस्याबारे सरकारले नबोलेकोमा चिन्ता व्यक्त गरे। ‘अहिलेको सबैभन्दा ठूलो समस्या सर्वसाधरणको ज्यान बचाउने हो, सरकार पनि त्यसैमा लागेको छ। हाम्रो बुझाई पनि त्यही हो’ उद्योगी सारडाले भने, ‘सर्वासधारको ज्यान बचाउन गृह मन्त्रालय जुटेको छ। तर हाम्रो विषयमा न अहिलेसम्म उद्योग मन्त्रालयले बुझ्यो, न अर्थमन्त्रालय बोलेको छ, व्यवसायीको समस्यालाई किन किनारा लगाइन्छ थाहा छैन।’

नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट यसबारे लिखित आग्रह पनि आएको राष्ट्र बैंकले जनाएको छ। ‘लिखित आग्रह आएको छ, के गर्ने भन्‍ने विषयमा छलफल भएको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने।

उद्योगीहरूले कर तिर्ने समय पनि बढाउन माग गरेका छन्। अर्थमन्त्रालयले यसबारे आफ्नो धारणा नदिए पनि समय नलम्व्याउने संकेत दिएकको छ। ‘असारमा बाढी पहिरो प्राय: आइरहन्छ। अहिले केही बढी क्षति भएको छ। कर तिर्ने म्याद थप कुरा पनि आएको छ। यस विषयमा मन्त्रीज्यूले छलफल चलाउनु होला,’ अर्थमन्त्रालयका एक सहसचिवले भने, ‘सीमित व्यवसायी त साँच्चिकै समस्यामा होलान्। तर अधिकांकलाई यही मौकामा समय थप्न पाए हुन्थ्यो भन्ने दाउ छ। अर्को कुरा कर तिर्ने विषय नियमित हो, फेरबदल हुँदैन।'

सरकार चालू वर्षमा अपेक्षित राजस्वसमेत उठाउन नसकेको अवस्था छ। वर्षको अन्त्यमा समय थप्ने निर्णयले लक्ष्य र उठ्ने राजस्वको अन्तर थप बढ्ने भएकालेअर्थमन्त्रालयले कर तिर्न समय नथप्‍ने सम्भावना बढी छ।

बढी पिहरोका कारण प्रदेश २ का धेरै उद्योग बन्द छन्। त्यस्तै पहाडी जिल्लामा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ। ६० मेगावट बरारबको जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ। त्यस्तै कृषि उद्योगमा पनि बाढीको प्रभाव देखिएको व्यवसायीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.