|

काठमाडौं भूकम्पपछिको पुन निर्माणका लागि राष्ट्रिय पुन निर्माण प्राधिकरण गठन भएको एक वर्ष पुगेको छ।

प्राधिकरणले आफ्नो स्थापनाको १ वर्षका अवसरमा पत्रकार सम्मेलन गर्दै उत्साहजनक ढंगले काम अघि बढिरहेको जनाएको छ। ‘एक वर्षको अवधिमा एक चरणको उपलब्धि हासिल गर्दै प्राधिकरणले पुननिर्माण पुन;  र पुनर्स्‍थापनाका कार्यक्रमलाई योजनाबद्ध र व्यवस्थित रुपमा अघि बढाउन सफल भएको छ,’ आइतबार गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले सुनाए।

'संसारमा धेरै देशहरुमा यस्तो विपत्ति आएको छ। तर विपतपछिको निर्माणमा हाम्रो काम उदाहरणीय  भएको दातृ निकायहरुको प्रतिक्रिया छ,'प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए। 

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीले दोस्रो किस्ताको रकम डेढ लाख उपलब्ध हुनेमा ढुक्क रहन भूकम्प पीडितलाई आग्रह गरेका छन्। अनुदान सम्झौता गरी अनुदान रकम प्राप्त गरिसकेका भूकम्प पीडित घरधनीहरुलाई अब अरुले घर बनाइदिन्छ भन्‍ने भ्रममा नपर्न समेत सिईओ ज्ञवालीले आग्रह गरेका छन्।

त्यस्तै कर्मचारी सरुवामा अब भने कम्तिमा दुई वर्ष नपुगेसम्म सरुवा हुन नपाउने, शाखा अधिकृत भन्दा तल्लो तहको कर्मचारी करारमा नियुक्त गर्ने जस्ता व्यवस्था गर्न थालिएको ज्ञवालीले बताएका छन्।


पुन निर्माण प्राधिकरणले हाल सम्म २५ अर्ब रुपैयाँ खर्च गरेको छ। गत वर्ष २२ अर्ब रुपैयाँ  विनीयोजना गरिएकोमा जम्मा ४ अर्ब रुपैयाँ खर्च गरेको थियो। चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म २१ अर्ब रुपैया खर्च भएको सिइओ ज्ञवालीले जानकारी दिए।

के हुन एक वर्षका काम

  • भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भएकोमा ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त।
  • भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको।
  • पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्‍न।
  • २०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्‍न।
  • ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्‍न।
  • शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको छ।
  • भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्‍न।

प्राधिकरणले आगामी दिनमा गर्ने कामको खाका समेत सार्वजनिक गरेको छ।  सडक, जलविद्युत, उद्योग, जीवीकोर्पाजन लगायतका क्षेत्रहरुमा समानन्तर रुपले काम गर्ने र प्राधिकरणले तय गरेको योजना अनुसार अघि बढ्ने प्रतिबद्धता सिइओ ज्ञवालीको छ।
प्राधिकरणले तय गरेको खाका अनुसार चालु काठमाडौं उपत्यकाभित्रका सातवटै विश्‍‍वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको बृहत्तर विकासका निम्ति गुरुयोजना तयारी गरिने छ।

नयाँ संस्थागत संरचना तयार पारी जनशक्ति परिचालन गर्नुका साथै पुनर्निर्माणमा जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउन इन्जिनियरहरुलाई गाँउ–गाउँमा परिचालन गरेको दाबी प्राधिकरणको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.