विरोधमा उत्रिए नेकपाकै सांसद

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपत्तिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन्। 

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढी, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालमा बोल्दै यस्तो आलोचना गरेका हुन्। 

उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे। जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ। उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे। 

सभामुखको भूमिका आपत्तिजनक: भट्टराई

साक्षात्कारमा बोल्दै खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे।

‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। सवारी आवातजावत अवरुद्ध छन्। जनताको आवासमा ठूलो क्षति पुगेको छ। तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो’, उनले भने, ‘हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर। तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो। आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो।’

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए। ‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो। यसमा हाम्रो घोर आपत्ति छ। यो खेदजन्य कुरा हो। यथाशिघ्र बैठक बोलाउनुपर्छ। संसदलाई बन्धक बनाउनुहुँदैन,’ उनले भने। सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा उनले जोड दिए।

‘विपदमा कांग्रेसले संवेदनशील भएन: खड्का 

रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपत्तिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाइन्। 

उनले रौतहट पूरै डुवानमा परेको सुनाइन्। ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन्, ‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो। तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं।’ उनले बाढी, पहिरोमा बेपत्ताहरुको तदारुकताका साथ खोजी हुनुपर्ने बताइन्। 

संसद स्थगितमा कांग्रेस दोषी: सिलवाल

ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित् गरिएकोमा गम्भीर आपत्ति जनाए। ‘मुलुक अहिले बाढी, पहिरो र डुवानबाट प्रताडित छ। सयौं घर भत्किएका छन्। बाटाघाटा अवरुद्ध छन्। यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो’, उनले भने, ‘हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो। तर, संसद बैठक स्थगित गरियो। यसमा हाम्रो घोर आपत्ति छ।’

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसको अकर्मण्यताका कारण संसद बैठक स्थगित भएको आरोप लगाए। उनले भने,‘यसले के देखाउँछ भने कांग्रेस मुलुक र जनताप्रति जिम्मेवार छैन। मुलुक यतिवेला बाढि, पहिरोबाट आक्रान्त बनेको छ। यस्तो बेलामा संसद बैठक बस्नुपर्दथ्यो। तर, कांग्रेस जिम्मेवार भएर प्रस्तुत भएन।’

उनले सुरक्षा निकायले राहत तथा उद्धारमा देखाएको सक्रियता र भूमिका प्रशंसनीय रहेको सुनाए। उनले भने,‘म गृहमन्त्रालयको भूमिकालाई प्रशंसा गर्न चाहन्छु। सुरक्षा निकायको भूमिका पनि उच्च प्रशंसनीय छ। गृहमन्त्रालयले आफ्नो कामलाई अझै प्रभावकारी बनाउनुपर्छ। आफ्नो साधन र स्रोतलाई भरपुर उपयोग गर्नुपर्छ।’ 

कांग्रेसकै कारण संसद स्थगित: सुनुवार

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए। राष्ट्रिय विपत्तिमा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले आक्रोश पोखे। उनले भने,‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो। यसमा हाम्रो गम्भिर आपत्ति छ। कांग्रेसले जुन रवैया देखायो, यो गलत छ।’

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राखेर संसद बैठक स्थगित गरेको भन्दै उनले गम्भिर आपत्ति जनाए। उनले भने,‘म कांग्रेसको यो रवैयाको घोर आपत्ति जनाउँछु।’ आफू ७२ घण्टा लगाएर संसद बैठकमा जनताका दुःखका कुरा राख्छु भनेर ज्यान दाउमा लगाएर आएको सुनाउँदै सुनुवारले भने,‘तर, बैठक स्थगित गरियो। यसमा म सभामुखलगायत प्रतिनिधिसभाको नेतृत्व गर्नेहरुको आलोचना गर्छु।’

उनले उद्धार तथा राहतको लागि सरकारको काम अझै प्रभावकारी हुनुपर्ने बताए। उनले भने,‘अहिले पनि काममा ढिलासुस्ती भैरहेको छ। अहिले त संसदमा यो विषयमा गम्भीर बहस हुनुपर्ने थियो। तर, बैठक बस्नै नदिई स्थगित गरियो। यो षडयन्त्र हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.