|

दाङ : बेलझुण्डी खानेपानी तथा सरसफाइ संस्थाका उपभोक्ताहरुले धारामा नियमित धमिलो पानी आएपछि सोमबार धमिलो पानीसहित तुलसीपुर उपमहानगरपालिका कार्यालय पुगे। 

वडा नम्बर १६, १७, १८ र १९ का उपभोक्ताहरु बोतलमा भरिएको धमिलो पानी साथमा लिएर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको कार्यकक्ष पुगेर आफ्नो गुनासो राखे। खानेपानीको मुहानमाथि सोनापुर सिमेन्टले चुनढुंगा उत्खनन् गरेपछि चार वर्षदेखि वर्षायाममा धमिलो पानी आउने गरेको खानेपानी संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए। यस समस्याबारे विभिन्न निकायहरुमा धमिलो पानी लगेर नै ध्यानाकर्षण गराए पनि कसैले सुनुवाइ नगरेपछि नगरप्रमुख कहाँ गएको उनको भनाइ छ।

बिगतका वर्षमा जिल्ला प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिका, डिभिजन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गुनासो राखे पनि कुनै पनि निकायले चासो नदिएको उनको भनाइ छ । गुनासोपछि गत चैतमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, जिल्ला प्रशासन, जिल्ला खानेपानी डिभिजन, सडक डिभिजन कार्यालयलगायत सरोकारवालाहरुलाई खानेपानी संस्थाले उत्खनन् क्षेत्र र पानीको मुहानको अनुगमन गराएको थियो। 

खानेपानीको मुहानमाथिबाट सोनापुर सिमेन्टले चुनढुंगा उत्खनन् गर्ने गरेकाले पनि यस्तो समस्या निम्तिएको उपभोक्ताहरुको गुनासो छ। खानेपानी  फिल्टरका लागि प्रविधि जाडान गरे पनि अत्यधिक लेदो जम्दा त्यसले पनि काम नगरेको अध्यक्ष पाण्डेको भनाइ छ।

धारामा निरन्तर धमिलो पानी आउँदा खानेपानीको हाहाकार भएको तुलसीपुर–१९ की धनमाया ओलीले बताइन्। धारामा आएको पानीले नुहाउन, शौचालय प्रयोग गर्न समेत अवस्था नरहेको उनको भनाइ छ। धारामा धमिलो पानी आएपछि कुवाको पानी प्रयोग गर्दैै तुलसीपुर–१७ का ज्ञानेन्द्र विष्टले बताए।  

खानेपानी समितिअन्तर्गत चार वडामा करिब १४ सय धारा वितरण गरिएको छ। यसमा करिब १७ हजार उपभोक्ताहरु रहेको खानेपानी संस्थाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.