|

उदयपुर : बाढी र पहिरोका कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सोमबार राति रौतामाई गाउँपालिकामा गएको पहिरो र छौडिया खोलामा आएको बाढीमा बेपत्ता दुई जना मंगलबार बिहान मृत फेला परेपछि मृतकको संख्या तीन पुगेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले मंगलबार बाढी र पहिरोमा परी बेपत्ता भएका दुईको संख्या जोड्दा तीन पुगेको बताए। ‘केही दिनअघि एक जनाको मात्र मृत्यु भएको थियो,’ उनले भने, ‘गएराति रौतामाईको मुकुर्चीमा बेपत्ता भएका बालक र महिला पनि मृत फेला परेका छन्।’

पहिरोले घरसहित बगाउँदा रौतामाई गाउँपालिका–८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले जानकारी दिए। 

सोही पहिरोले छौडिया खोला थुनिएर आएको बाढी रौतामाईकै मुकुर्ची बजार पसेको थियो। राति बाढीले स्थानीय अर्जुन तामाङका नौ वर्षीय छोरा आर्यन तामाङ बेपत्ता भएका थिए। मंगलबार बिहान बेपत्ता भएका बालक पनि त्रियुगा नदी किनारमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्रियुगा खोलामा आएको बाढीले गएको शनिबार बेलका नगरपालिका–१ बस्ने तारा श्रेष्ठको मृत्यु भएको थियो।

मुकुर्ची बजारमा बाढी

छौडिया खोलामा आएको बाढीले मुकुर्ची बजारमा पसेको छ। रौतामाई–७ जिल्लाको मध्यवर्ती व्यापारिक केन्द्र मुर्कुचीमा बाढीले लाखौंको क्षति भएको छ। बाढीले खोला किनार आसपास रहेको सार्वजनिक भवनहरुमा क्षति पुर्‍याएको छ।

खोला किनारमा रहेका स्थानीयका करिब एक दर्जन बाख्रा, सुँगुरका खोर बगाएको स्थानीय श्याम तामाङले बताए। राति एक्कासी बाढी आएपछि बजारका व्यापारी र स्थानीयहरु घर छाडी सुरक्षित स्थानमा सरेको थिए। 

बाढीले खोला आसपासका घरमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उदयपुरमा हालसम्म बाढी पहिरोमा परी तीनको मृत्यु भएको र पाँच घाइते भएको जानकारी दिए। ‘राहात वितरण, क्षतिको विवरण संकलन, बाढी पहिरोको स्थानमा खोज तथा उद्धार जारी छ,’ उनले भने, ‘घाइतेहरुलाई जिल्लाबाहिर र जिल्लाभित्र उपचार गरिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.