|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ चार दिनपछि सडक सञ्जालसँग जोडिएको छ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रेभीरमा कटान गर्दा सडक अवरुद्ध भएको थियो।

तीन दिन लगाएर सडक मर्मत गरेपछि सडक सञ्चालनमा ल्याउन सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। ‘करिब दश मिटर सडक कटान गरेको थियो, शुक्रवार दिउँसोदेखि अवरुद्ध खुलाउन सफल भएका छौँ,’ उनले भने, ‘अलपत्र परेका सवारीहरू अब वारपार हुन सुरु भएको छ।’

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा अहिले कुनै पनि समस्या नरहेको र मुस्ताङमा अलपत्र परेका यातायातका साधनहरू बाहिरिने क्रम चलिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए। चार दिनदेखि सडक बन्द हुनु र मौसमको खराबीका कारण जोमसोम पोखरा हवाइ सेवा पनि बन्द हुँदा गन्तव्यमा फर्किन नसकेका पर्यटकहरूले पनि मुस्ताङ छोडिसकेको उनको भनाइ छ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, तीर्थयात्री र पर्यटकहरू सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्नु बाध्य थिए। म्याग्दीबाट मुस्ताङका लागि हुने ढुवानी समेत प्रभावित भएको थियो। रोकिएका सवारी साधनहरू सडक खुलेपछि गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.