|

काठमाडौं : सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गयो। त्यसको दुई साता नबित्दै जाँच रोकियो।

कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको संघीय सरकारले जनाएको छ। संघीय सरकारले भनेको छ, ‘आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउने छ।‘ यसरी संघीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने बताएपछि नेपालगञ्जमा एक साता अघिदेखि जाँच पुनः शुरु गरियो तर जाँच गर्ने कर्मचारीको अभाव देखाउँदै पुनः जाँच रोकिएको छ।

पूर्वतयारी नै नगरेर शुरु गरेको जाँच पटकपटक रोक्नु परेको विषादी अवशेष द्रूत विश्लेषण एकाइ नेपालगञ्जले जनाएको छ। कृषि ज्ञानकेन्द्र बाली संरक्षण अधिकृत सकिल अहमदले कर्मचारी अभावका कारण समस्या भएको बताए। उनले घरायसी कामले काठमाडौं गएपछि विषादी जाँचको काममा झनै बाधा पुगेको छ।

विषादी अवशेष द्रूत विश्लेषण एकाइका अनुसार नियमित जाँच गर्न बाली संरक्षण अधिकृत अहमदलाई जिम्मेवारी दिइए पनि एक्लैले काम गर्न नसक्ने भएपछि जाँच निरन्तर हुन सकेको छैन। कर्मचारी नहुँदा विषादी जाँच रोकिएपछि भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल निर्वाधरुपमा विना जाँच भित्रिरहेको छ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जका सञ्चालक समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरका अनुसार विषादी जाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकारसँग थप कर्मचारीसमेत माग गरिएको छ।

‘हामीले विषादी जाँचका लागि बाली संरक्षण अधिकृत एक जना, दुई जना प्राविधिक र कार्यालय सहयोगी एक जना हुनुपर्ने माग गरेका छौँ’ उपप्रमुख मगरले भने। उपभोक्ता सबैले आफूले तरकारी उत्पादन गरेर खाने बानी बसाल्न अनुरोध गरेको बताए। केही दिनयता भारतीय तरकारीको नमूना भन्सार कार्यालयले नपठाएकाले पनि जाँच हुन नसकेको बाली संरक्षण अधिकृत अहमदले बताए।

भारतबाट आउने तरकारी मात्र नभएर नेपालगञ्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफूललाई मण्डीमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर जाँच गर्ने योजना रहेको बाली संरक्षण अधिकृत अहमदले बताए। अहिले आउने हरियो तरकारीमा अन्यभन्दा बढी विषादी भेटिएको विषादी अवशेष द्रूत विश्लेषण एकाइले जनाएको छ।

बाली संरक्षण प्रयोगशाला खजुराका दीपक घिमिरेले नेपालगञ्जको सरकारी जमीनमा तरकारी लगाउने हो भने नेपालगञ्जलाई पर्याप्त पुग्ने बताउँदै सबैलाई आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गरे।

नेपालगञ्जको रानीतलाउ तरकारीउपज बजारसँगै कोहलपुर र भन्सार क्षेत्रमा समेत प्रयोगशाला राख्नु पर्नेमा उनले जोड दिए। उनले केही दिनयता भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादी मिसाइएको हुनसक्ने भएकाले सजग रहन उपभोक्तालाई आग्रह पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.