'कम्युनिस्टको साइनबोर्ड हेरेर मात्र जनताले माया गर्दैनन्'

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले जनताको मन जित्न नसके कम्युनिस्टलाई पाठ सिकाइदिने अबस्था आउने तर्फ सचेत गराएका छन्। नेकपा जिल्ला कमिटी ललितपुरका सदस्यको सपथग्रहण कार्यक्रममा सोमबार बोल्दै उनले जनताको काम गर्न नसकेमा अर्को चुनावमा जनताले अहिले जसरी मत नदिने  पनि उल्लेख गरे। 

पटक पटक सोभियत संघको उदाहरण दिएका अध्यक्ष दाहालले नेपालका कम्युनिस्टले पनि सजग हुनुपर्ने जिकिर गरे। ‘सोभियत संघ बाहिरको साम्राज्यवादीले ढालेको होइन। आफ्नै कारणले ढलेको हो। जनताको वितृष्ण नबुझ्दा ढलेको हो’, उनले भने, ‘गुटको निम्ति काम गर्ने, नजिकाका मान्छेलाई मात्रै पोसिदिँदा जनतामा बितृष्ण बढेर सोभियत संघ विघटन भयो।’ भन्दै सांकेतिक रुपमा सरकारका काम प्रति असन्तुष्टि ब्यक्त गरेका प्रचण्डले इतिहासबाट सबैले शिक्षा लिनु पर्ने पनि बताए । ‘यस्तो अवसरमा पनि काम गर्न नसकेका जनताले कम्युनिस्टको साइनबोर्ड हेरेर मात्रै माया गर्दैनन्’, दाहालले भने, ‘सत्ताका लागि लडाईं गर्यो भने जनताले माया गर्दैनन्। हामीले जनताको काम गर्न सकेनौँ भने सोभियत संघको जस्तै हालत हुन्छ।’

अध्यक्ष दाहालले नेपालका दुई कम्युनिस्ट मिल्ने क्रममा प्रतिक्रियावादीले ठुलो चलखेल गरेको पनि जिकिर गरे। ‘प्रतिक्रियावादीले नेता नेतामा कुरा लगाएर दिमाग खराब गर्छन्, फुटाउन खोज्छन्। तर पनि हामी एक भएका छौँ’, उनले भने, ‘जनताले दिएको बहुमत नै हाम्रा लागि शिक्षा हो, हाम्रो तागत एकतामा छ।’

अध्यक्ष दाहालले केही महिनाभित्र नेतृत्वसहित जनतामा जाने तयारी पार्टीले गरेको जानकारी दिए। ‘जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार मञ्च, आयोग र विभागको विवाद टुंगिएको छ। बाँडफाँट भइसकेको छ’, उनले भने, ‘अब ती खाली ठाउँमा नाम भर्न मात्रै बाँकी छ।’

नेकपालाई अत्यधिक बहुमत दया गरेर नदिएको उनले बताए । ‘हामीलाई जनताले दया गरेर बहुमत दिएका होइनन्। पुराना शासक राजा–महाराजाले दया गरेर हाम्रो यो हैसियत भएको होइन’, दाहालले भने, ‘पार्टी एकता सफल हुन नदिन देश भित्र र बाहिरबाट धेरै खालका कसरत नभएका होइनन्। विभिन्न खालका घेराबन्दी र दबाब आएकै हुन्। तर हामी अब टुंगोमा पुगिसकेका छौँ।’

प्रतिक्रियावादीहरु असफल भएकाले नेकपा एक भएको उनको भनाइ थियो। उनले ललितपुरलाई बेइजिङको संज्ञा दिए। ‘ललितपुर जिल्ला नेपालको बेइजिङ हो। लालकिल्ला हो। वामपन्थीको जिल्ला हो’, उनले भने, ‘बाहिरको दुष्मनले हराएर कम्युनिष्ट कहिले हारेका छैनन्। हाम्रा आफ्नै कारणले हराएका हुन्।’ 

दाहालले नेपालका कम्युनिष्टमा पनि आचरणगत समस्या रहेको उल्लेख गरे। ‘हाम्रो आचरण बिग्रियो भने जनताले घृणा गर्न थाल्छन्। त्यो हैसियतबाट जनताले गिराउन बेर मान्दैनन्’, उनले थपे, ‘२ करोड जनता मरेर ल्याएको सोभियत समाजवाद एउटै मान्छे नमरी कसरी उल्टियो? कसरी पुँजीपतिको हातमा पुग्यो? हामीले पनि सोच्नुपर्छ’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.