|

विराटनगर: प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ। 

विराटनगरको जैन भवनको सभाहलमा खचाखच भरिएका विद्यार्थी माँझ प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ यो कार्यक्रम शुभारम्भ भएको हो। यो कार्यक्रम प्रदेश १ का युवालाई सकारात्मक दिशातर्फ लैजान भूमिका खेल्ने सरकारको दाबी छ। 

कार्यक्रमको सुरुवातमा संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्य प्रोजेक्टरमार्फत देखाइएको थियो। प्रधानमन्त्रीबाट कार्यक्रमको शुभारम्भ गराउने प्रयास असफल भएपछि रेकर्डेड भिडियोमार्फत प्रधानमन्त्रीले युवालाई सही बाटोमा जानुपर्ने सन्देशसहितको शुभकामना बजाइएको थियो। लगत्तै गडगडाहट ताली र जोशिलो हुटिङसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरे।

कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १४० विद्यालयका १५ हजार विद्यार्थीमाँझ क्लब गठन भएको जानकारी गराए। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले महत्वका साथ सुरु गरेको कार्यक्रममा मन्तव्य दिँदै मुख्यमन्त्री शेरधन राईले कार्यक्रममार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गरे।

पहिले नै शुभारम्भ गर्नुपर्ने कार्यक्रम विभिन्न कारणले अन्तिम समयमा उद्घाटन भएको भन्दै उनले यसखालका कार्यक्रमले समृद्ध प्रदेश निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यो कार्यक्रम संचालन गरेसँगै युवामा सकारात्मक परिवर्तन आउने दाबी गरे। उनले समाजलाई लागुपदार्थ दुर्व्यसनीबाट मुक्त गराउने, सामाजिक अपराध रोक्ने र असल नागरिक उत्पादन गर्ने पनि बताए। 

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै सत्यनारायण माध्यामिक विद्यालय विराटनगरका प्रधानाध्यापक धर्मानन्द खरेलले ९ कक्षा देखि १२ कक्षाका विद्यार्थीलाई दुर्व्यसनीमा जान नदिन र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन कार्यक्रमले भूमिका खेल्ने बताए। 

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायतले शुभकामना मन्तव्य दिए। युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले कार्यक्रम शुभारम्भ गरेको हो।

आजका किशोर-किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने छ।

कार्यक्रमबाट प्रदेश १ का करिब दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुने दाबी गरिएको छ। कार्यक्रमअनुसार प्रदेशका सबै माध्यामिक विद्यालयमा हप्ताको १ दिन १ पिरियड नैतिक शिक्षासम्बन्धी कक्षा सञ्चालन हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.