वार्ताको बाटो खोज्न नख्खुमा विष्णु, भक्तपुरमा सोमप्रसाद!

|
प्रधानमन्त्री ओली र नेकपाका प्रमुख विप्लव

काठमाडौं : प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले प्रयास थालेको छ। नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी विस्फोट गराएपछि सरकारले प्रतिबन्ध लगाएको विप्लवको नेकपासँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका हुन्। 

नख्खु प्रकरणपछि विप्लवलाई आतंककारीको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी र पूर्वएमालेका नेताहरूलाई सम्पर्क सूत्रका रूपमा प्रयोग गरेर वार्ताको कोशिस गरिरहेका छन्। 

पूर्वमाओवादीका लडाकु र युवापंक्तिसहित भूमिगत जीवन बिताइरहेका विप्लवसँग सम्पर्क स्थापित गर्नैका लागि ओलीले नेकपा महासचिव विष्णु पौडेललाई समेत खटाएका छन्। सम्पर्क सूत्रका रूपमा विष्णु पौडेल, नेकपा नेता जनार्दन शर्मा, सरकारी वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेलाई प्रधाननमन्त्रीले खटाएका हुन्। 

प्रतिबन्धको कथा 

विप्लव समूहले गत फागुनमा ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित मुलुकभरका मोबाइल टावरमा आक्रमण गरेको थियो। त्यसक्रममा नख्खु विस्फोटमा परेर लमजुङका सिंहप्रसाद गुरुङले ज्यान गुमाएका थिए। 

एकजनाको ज्यान जानेगरी विप्लवले सार्वजनिक संरचनामा हमला गरेपछि सरकार आक्रमक भएको थियो। त्यहीँक्रममा सरकारले फागुन २८ गतेको निर्णयअनुसार विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। 

सरकारको प्रतिबन्धसँगै विप्लवसहितका अधिकांश नेता कार्यकर्ता भूमिगत भए। भूमिगत भइसकेपछिको तीन महिनाको अवधिमा सरकारले देशभर विप्लवविरुद्ध 'सर्च अप्रेशन' चलायो। 

त्यसक्रममा काठमाडौंमा भएका विस्फोटसहितमा विप्लवका ८ भन्दा बढी नेता कार्यकर्ता मारिए। २०० भन्दा धेरै नेता/कार्यकर्ता पक्राउ परे। विप्लवका स्थायी समिति सदस्य तथा तेस्रा ठूला नेता हेमन्तप्रकाश वली सुदर्शन पक्राउ परे। उनलाई नख्खु विस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले चैत पहिलो साता काभ्रेबाट पक्राउ गर्‍यो। 

त्यसपछि विप्लवको कारबाहीमा परेका पोलिटब्युरो सदस्य पदमबहादुर राईले पार्टी छाडेर सत्तारुढ नेकपामा प्रवेश गरे। विप्लवका एक नेताका अनुसार करिब ५०० कार्यकर्ता देशका विभिन्न जेल र प्रहरीको हिरासतमा छन्। 

अघि बढेको छैन वार्ता

सरकारले विप्लवका प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ पर्नुअघि वार्ताको कोशिस भएको थियो। त्यो वार्ता पनि उनै प्रकाण्डसँग सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले अघि बढाएका थिए। 

विप्लवका एक पोलिटब्युरो सदस्यकाअनुसार त्यसयता सरकारसँग औपचारिक–अनौपचारिक वार्ता हुन सकेको छैन। उनले भने, ‘सरकारले प्रतिबन्ध लगाएको अवस्थामा वार्ता कसरी सम्भव हुन्छ? सरकारले आतंककारी भनेको अवस्थामा गरिएको वार्ताको हल्ला व्यर्थ हो।’

आफ्नो पार्टीले राजनीतिक मुद्दा उठाइरहेको बताउँदै विप्लव नेकपाले नख्खु घटनाका कारण सरकारले प्रतिबन्ध लगाएर पेल्न खोजेको निष्कर्ष निकालेको छ। ‘नख्खु घटनामा मानिसको ज्यान जानु दुर्घटना थियो, त्यो हामीले स्वीकारेका छौँ’, विप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ले थाहा खबरसँग भने, ‘तर सरकारले हामीलाई सिधै प्रतिबन्ध लगायो। हाम्रो सुरक्षाको ग्यारेन्टी गर्ने गरी औपचारिक पत्र नआएसम्म वार्ताको सम्भावना छैन।'

'चार कम्पनी सेना'को तरङ्ग

प्रतिबन्ध लगाएपछि एक महिनाअघि संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवले चार कम्पनी लडाकु बनाइसकेको गम्भीर अभिव्यक्ति दिए। 

‘हामीलाई प्राप्त सूचनाअनुसार विप्लवले ४ कम्पनी सेना बनाइसकेका छन्’, उनले त्यो बेला संसदमा भनेका थिए, ‘हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ। संविधान विपरीत जानेलाई सरकाले जुनसुकै विकल्प लगाएर तह लगाउँछ।’

गृहमन्त्री बादलको यो डरलाग्दो अभिव्यक्तिपछि विप्लवको शक्तिबारे सरकारले पनि आँकलन गरिसकेको निचोड निकाल्न सकिन्थ्यो। कुनै पनि भूमिगत समूहले हतियारसहितका सेना नै विकसित गर्नु राज्यका लागि चुनौती थियो। त्यसमा पनि विप्लवले आफूलाई राजनीतिक शक्तिका रूपमा परिचित गराउँदै हतियार उठाउने तत्कालीन या दीर्घकालीन रणनीति नरहेको बताइरहेको छ। 

विप्लवले आफ्ना कुनै पनि कार्यकर्तासँग अहिले हतियार नरहेको बताउँदै आएको छ। तर प्रहरी इन्काउन्टरमा मारिएका सर्लाही इन्चार्ज कुमार पौडेल र भोजपुरमा मारिएका प्रशान्त राईबाट पेस्तोल बरामद भएको दाबी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्। 

सूत्र खोज्दै सरकार

प्रतिबन्धमा परेपछि विप्लवको ८ जना भन्दा धेरै कार्यकर्ता गुमाइसकेको छ। जसमा दुई जिल्ला सर्लाही र ओखलढुंगाका प्रमुख रहेका छन्।  यसबीचमा सरकार पनि विप्लवलाई गलाउने रणनीतिमा लागेको थियो। त्यही रणनीति अनुसार सरकारले जनपद र सशस्त्र प्रहरी परिचालन गरेर सर्च अप्रेशन नै चलायो।

सुरुमा विप्लवकै गाउँ कपिलवस्तुका शिवगढीमा प्रहरीले सर्च अप्रेशन चलाइयो। जहाँबाट प्रहरीले केही हतियार बरामद भएको दाबी गर्‍यो। तर त्यहाँ पुगेका प्रहरीविरुद्ध गाउँले नै प्रतिकारमा उत्रिए। 

सोलुखुम्बुको छेस्काममा प्रहरी चौकी कब्जा भएको अफबाहपछि त्यहाँ सरकारले तीनवटा हेलिकोप्टरबाट दुवै प्रहरीका १०० भन्दा धेरै जवान उतार्‍यो। संखुवासभामा पछिल्लो पटक गोली हानाहान भएपछि त्यहाँ पनि तीनवटा हेलिकोप्टरबाट प्रहरी उतारेर सर्च अप्रेशन चलाइयो। त्यहाँबाट एक थान एसएलआर राइफल बरामद भएको दाबी प्रहरीको थियो। 

तेस्रा ठूला नेताको पक्राउले विप्लव सजग

मोबाइल फोनको लोकेशनकै कारण पार्टीका तेस्रा ठूला नेता रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परेपछि महासचिव विप्लव सजग भएको सूत्र बताउँछ। 

‘वली पक्राउ परेपछि विप्लवले मोबाइल फोन प्रयोग गर्न छाडेका छन्’, स्रोत भन्छ, ‘विप्लवसँग सम्पर्कको भरपर्दो सूत्र फेला नपरेपछि प्रम ओलीले केही नेतालाई खटाएको हामीले सुनेका छौँ, तर अहिले दोस्रो, तेस्रो तहका नेतासँग मात्रै कुरा भइरहेको छ।’

विष्णु पौडेल नख्खुमा

वार्ताको वातावरण बनाउन भन्दै नेकपा महासचिव विष्णु पौडेल साताअघि हेमन्त प्रकाश वलीलाई राखिएको नख्खु कारागार पुगेका थिए। जहाँ उनीसँग नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाल पनि थिए। 

वलीसँगको भेटमा पौडेलले वार्ताको वातावरण बनाउन सरकार तयार रहेको भन्दै 'कन्भिन्स' गर्न खोजेको सूत्र बताउँछ। तर विप्लवका एक नेताले भने जेलमा भएका हेमन्तप्रकाशलाई भेटेर वार्ता हुनै नसक्ने बताए। ‘सरकारले साँच्च्किै वार्ता गर्न चाहेको हो भने जेलमा भएका नेतासँग होइन, बाहिर रहेकासँग सम्वाद थाल्नुपर्छ’, ती नेताले भने, ‘जेलमा रहेका नेतालाई भेट्नुको अर्कै उद्धेश्य हुनसक्छ। त्यो हामीले बुझेका छौँ।’

हेमन्तप्रकाशलाई पनि गलाउने रणनीतिअनुसार नेकपा महासचिव पौडेलले भेटेको दाबी विप्लव पक्षको छ। ‘उहाँलाई गलाएर लैजान खोजेको देखिन्छ। नत्र जेलमा भएको व्यक्ति कसरी सम्पर्क सूत्र हुनसक्छ?’, विरही प्रश्न गर्छन्, ‘पदम राईकै शैलीमा उहाँलाई पनि पार्टी छाड्न बाध्य पार्ने खेल भएको हुन सक्छ। त्यसो हो भने सरकारले वार्ता नचाहेको पुष्टि हुन्छ।’

सरकारले सिके राउतसँग भएको वार्ताकै शैलीमा विप्लवसँग कुरा अगाडि बढाउन खोजेको विप्लवनिकट स्रोत बताउँछ। ‘हामीलाई हेर्ने सरकारको दृष्टिकोण सिके राउतलाई जस्तै हो भने त्यो गलत हो’, विप्लवका नेता विरही भन्छन्, ‘संवाद गर्ने हो भने सजिलै हुनसक्छ। अहिले पनि हामी वार्ताकै चरणमा छौँ। तर, सरकार हामीले हतियार उठाइदिए दमन गरेर तह लगाउने मुडमा देखिएका बेला वार्ता कसरी हुन्छ?’

सरकारको तर्फबाट नेकपाका नेता जनार्दन शर्मा र सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे पनि खटिएका छन्। तर दुवै नेता विप्लवसम्म पुग्ने सम्पर्क सूत्रको खोजीमा छन्। 

सोमबारै मात्र विप्लवनिकट जनपत्रकार संगठनका एक पदाधिकारीमार्फत् नेता जनार्दन शर्माले विप्लवका एक दोस्रो तहका नेतासँग संवाद गरेका छन्। शर्माले ती नेतामार्फत विप्लवसम्म पुग्ने सूत्रबारे कुराकानी गरेको स्रोतले दाबी गरेको छ। 

विप्लवका नेतासँगको अन्तर्वार्ता पढ्नुहोस्ः

भक्तपुरमा पाण्डेले कसलाई भेटे?

स्रोतका अनुसार भक्तपुरमा केही समयअघि वार्ता टोली संयोजक पाण्डेले विप्लवका कुनै नेतालाई भेटेका थिएनन्। उनीसँग विप्लव नेकपानिकट जनपत्रकार संगठनमा एक पदाधिकारीसँग सम्वाद भएको थियो। 

त्यो सम्वादमा पनि पाण्डले वार्ताका लागि नेताहरूसँगको सम्पर्क सूत्र बनाइदिन आग्रह गरेका थिए। तर ती पत्रकारले सरकारले औपचारिक पत्र दिए मात्रै आफूले त्यो भूमिका निर्वाह गर्न तयार रहेको जवाफ दिएको स्रोतको दाबी छ। 

वार्ताका लागि विप्लवको अडान 

सरकारले वार्ताका लागि सम्पर्क सूत्र खोजिरहेका बेला विप्लवले भने विभिन्न शर्त राखेका छन्। विप्लवका नेताहरूसँग प्रारम्भिक छलफल भएको समाचार आइरहँदा विप्लव पक्षले भने आफूले राखेका न्यूनतम शर्त सरकारले पूरा गर्नुपर्ने अडान राखेको छ।

‘नेकपा वार्ता विरोधी होइन। तर हामीले अघि सारेका मूलभुत मुद्दामा सरकार कति जिम्मेवार छ? यो प्रमुख कुरा हो’, विप्लव समूहका अर्का नेता भन्छ्न, ‘सरकारी वार्ता टोलीको म्याद सकिएको छ। त्यसको म्याद थप्ने या अर्को टोली गठनमा सरकार मौन छ। यसअर्थमा तत्कालै वार्ता सम्भव छैन।’ 

विप्लवले वार्ताका लागि कम्तीमा प्रतिबन्ध फुकुवा,पक्राउ कार्यकर्ताको निशर्त रिहाई, दमन र धरपकड रोक्नुपर्ने अडान राखेको छ। कम्तिमा पनि सरकारले औपचारिक रूपमा नेकपालाई सम्बोधन गरेर पत्र पठाउनुपर्ने विप्लवको अडान छ। त्यसले आफ्ना कार्यकर्ता र नेता सुरक्षित हुने र वार्ताको वातावरण बन्ने उनको विश्वास छ। ‘सरकारले राजनीतिक इमानदारिता देखाए हामी वार्ता विरोधी होइनौं’, विप्लवका पोलिटब्युरो सदस्य विरही भन्छन्, ‘वार्ता प्राविधिक समाधानमा भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्ने हाम्रो जोड हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.