|

पोखरा : फ्रान्सबाट पोखरा घुम्न आएका ७ जना पर्यटक गत हप्ताको बुधबार गुप्तेश्वर महादेव गुफा घुम्नका लागि गए। नेपाली गाइडको सहायतामा त्यहाँ पुगेका उनीहरू टिकट लिएर गुफा प्रवेश गरे। गुफामाथि बनेका गगनचुम्बी भवन देखेर पहिले नै आत्तिएका उनीहरू गुफाको पूरै भाग घुम्दै नघुमी फर्किए।

उनीहरूसँगै गएका नेपाली गाइड सुजन नेपालले भने, ‘गुफा छिर्ने बेलैमा यिनीहरू जाम की नजाम गर्दै थिए। त्यहीँ जाने भनेर आएको मान्छे किन यस्तो गरे भन्ने लाग्यो। कारण त उनीहरूलाई डर लागेर रहेछ। यस्ता थुप्रै गुफा डुलाएँ यिनीहरूलाई यहाँ चाहीँ गुफामाथि घरहरू बनेकाले डराएका रहेछन्।’

गाइड सुजन नेपालले फ्रान्सेली नागरिक पेट्रोडी बोनार्डोनलाई उद्धृत् गर्दै भने, ‘यसरी इतिहास रहन्न, प्राकृतिक सम्पदा पनि रहन्न। यसरी त मान्छेले आफ्नो काल बोलाइरहेको देखियो। यति सुन्दर ठाउँलाई ध्वस्त पार्न लागेको देखियो।’

गुफाभित्रै साना ढुंगाहरु खस्न थालेपछि मन्दिर व्यवस्थापन समितिले प्राकृतिक कुराहरूलाई टाल्दै सिमेन्ट र वालुवाको लेपले भित्तो टालेको छ। कहीँ कतै त ढलानै गरेको छ। गुफाभित्र ढलान गरेर ढुंगा झर्न रोक लगाए पनि गुफामाथि नै गगनचुम्बी भवनहरू ठडिइरहेका छन्। गुफामाथि नै दर्जनौँ व्यापारिक प्रतिष्ठानहरू दिनानुदिन थपिइरहेका छन्। विश्वकै लामो दुई हजार नौ सय ५९ मिटर लामो यस गुप्तेश्वर महादेव गुफा अहिले झन चपेटामा परेको छ।

थाकेको व्यवस्थापन समिति

पोखरा महानगरपालिकाले गुप्तेश्वर महादेव गुफा संरक्षणको लागि गुफाबाट २ सय मिटर वरपर घर निर्माण गर्न नपाइने मापदण्ड तोकेको व्यवस्थापन समितिका सचिव हरि लम्साल बताउँछन्। ‘महानगरले मापदण्ड त तोकेको छ नी! गुफाबाट २ सय मिटर दायाँबायाँ घर बनाउन नपाइने भनेको छ,’ उनले भने, ‘तर, के गर्नु कसैले टेर्दैनन्। एउटा मन्दिरको समितिले स्थानीयलाई कसरी हटाउन सकिन्थ्यो र प्रयास त गरेका हौँ सकेनौँ। घरहरूको तला दिनदिनै थपिरहेका छन्।’

अनुमतिबिनै गुफामाथि घरका तला

पोखरा महानगरका वडा अध्यक्ष तीर्थराज अधिकारी पनि गुफामाथि बनेका घरहरू अवैधरूपमा बनेको बताउँछन्। ‘यहाँ मापदण्ड त छ तर, कसैले मापदण्डलाई वास्तै गरेको छैन,’ उनले भने, ‘धेरै लापरबाही ढंगबाट संरचना निर्माण भएको छ। वैधता नलिई संरचना बनाइयो। धेरै महत्व बोकेको यसलाई ध्वस्ता पार्न खोजिँदै छ। सबै सरोकारवालाहरूसँग छलफल गरेर कसो गर्ने भन्ने टुंगो लगाउनु पर्ला।’

दैनिक १५ सय पर्यटक

गुफा अबलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटक गरेर दैनिक कम्तिमा पनि एकहजार पाँचसय मान्छे आउने गरेको गुफा ब्यवस्थापन समितिको रेकर्ड छ। समितिका लेखापाल युवाराज आचार्यका अनुसार अघिल्लो वर्ष नेपाली पर्यटक मात्रै २ लाख ७९ हजार सातसय ७४ जना गुफा अवलोकनका लागि आएका थिए।

त्यस्तै योबाहेक विद्यार्थी मात्रै शैक्षिक भ्रमणको लागि १ लाख ७३ हजार तीन सय ६७ जना आए। विदेशी पर्यटक भने १ लाख १८ हजार नौ सय आए।  चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नै अघिल्लो वर्षको भन्दा धेरै पर्यटकले गुफा अबलोकन गरेका छन्।

यो वर्षको ११ महिनामा नेपाली पर्यटक तीन लाख १४ हजार ४३ जना, विद्यार्थीहरु एक लाख ३२ हजार दुई सय ५७ जना र विदेशी पर्यटकहरु एक लाख २२ हजार दुई सय ८३ जनाले गुफा अबलोकनको लागि आइसकेका छन्। गुफा अवलोकनको लागि टिकट दर चार प्रकारको छ। नेपाली पर्यटकलाई प्रतिव्यक्ति ५० रुपैयाँ, नेपाली विद्यार्थीलाई ३५ रुपैयाँ, अन्य विदेशी पर्यटकलाई प्रत्तिव्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.