|
file Photo

हेटौंडा : मकवानपुरका स्थानीय तहले ३ दिनभित्र आफ्नो स्थानीय तहभित्र बाढी पहिरोले भएका क्षतिका विवरणहरू जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाउनु पर्ने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो। 

समितिले प्रशासनमार्फत मृतक परिवारलाई संघीय सरकारले दिने १ लाख र घाइतेको उपचार खर्च बिलअनुसार दिने निर्णय पनि गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा हालसम्म बाढी पहिरोको कारण ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

यस्तै, समितिले स्थानीय तहलाई बस्ती स्थान्तरण गर्नु पर्ने भएता पनि तुरुन्तै प्रशासनलाई खबर गर्न निर्देशन दिएको छ। हालसम्म मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको दमारका ७ घरलाई स्थान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

मकवानपुर गढी गाउँपालिकाको केहि बस्तिमा हेटौंडा सिमेन्ट खानीको कारण जोखिम रहेता पनि गाउँपालिकाले सिफारिस गरेपछि तुरन्तै स्थान्तरण गर्ने प्रजिअ तामाङले बताए। समितिको बैठकले विद्युतको नियमित आपूर्ति तथा पोलको विषयमा विद्युत प्राधिकरण, इन्टरनेट र सञ्चार माध्यमको अवस्थाको विषयमा नेपाल टेलिकमसँग, सडक सञ्चालनको डिभिजन सडक कार्यालय, खानेपानीको वितरणको लागि डिभिजन खानेपानी कार्यालयसँग छलफल र आवश्यक निर्देशन गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आकस्मिक रूपमा राहत र त्रिपालहरूको व्यवस्थासमेत गरेको समितिले जनाएको छ।  

त्रिभुवन राजपथबाहेक सबै बाटो अवरुद्ध

संघीय सरकारको राजधानी र प्रदेश ३ को राजधानी जोड्ने त्रिभुवन राजपथबाहेक अन्य बाटोहरू अवरुद्ध भएका छन्। कुलेखानी–सिस्नेरी–फाखेल सडक खण्ड, कान्तिलोक पथ अवरुद्ध रहेको छ।

कान्तिलोकपथमा ठूलो पहिरो झरेको हुँदा बाटो खुल्न एक हप्ताभन्दा बढी लाग्ने र कुलेखानी–सिस्नेरी–फाखेल सडकखण्ड खुल्न पानी नपरे तीन लाग्ने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.