|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत (विकास) बजेटतर्फ ५७.१५ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते बिहान नौ बजेसम्म प्रदेश सरकारले छ अर्ब ९१ करोड १३ लाख २६ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखानियन्त्रकको कार्यालयले जानकारी दिएको छ।

प्रदेश लेखानियन्त्रकको कार्यालयका अनुसार प्रदेश सरकारले चालुतर्फ ६० प्रतिशत बजेट खर्च गरेको छ। यो खर्च रकम अन्तिम दिनको नरहेको प्रमुख कोष नियन्त्रक बासुदेव जोशीले बताए। ‘नियमित निकासा असार २५ गतेसम्म मात्रै हो। तर, सम्बन्धित कार्यालयले पठाएको भुक्तानी आदेशको आधारमा असार ३१ गतेसम्म निकासा दिएका छौँ’, उनले भने, ‘असार ३१ गतेको खर्च यसमा समावेश गरिएको छैन।’

असारमै आधाभन्दा बढी विकास बजेट खर्च

पूँजीगततर्फ प्रदेश सरकारले १२ अर्ब नौ करोड ३५ लाख ८६ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो। हालसम्म प्रदेश सरकारले छ अर्ब ९१ करोड १३ लाख २६ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेश लेखानियन्त्रक कार्यालयका अनुसार गत जेठ मसान्तसम्म प्रदेश सरकारको पूँजीगत बजेट खर्च २१ प्रतिशत रहेको थियो। असारमात्रै ३६ प्रतिशत पूँजीगत बजेट खर्च गरिएको देखिएको छ।

आर्थिक वर्षको अन्तिम दिनको पनि जोडेर असार मसान्तको खर्चमात्रै करिब ४० प्रतिशत पुग्ने प्रमुख जोशीले जानकारी दिए।  जोशीले भने, ‘असार २० गतेदेखि यता एकै दिन ३० देखि ४० करोड रुपैयाँसम्म निकासा भएको छ।’

आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले २५ अर्ब छ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.