काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।
कांग्रेसका प्रतिनिधिसभाका सांसद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन्।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्यसमेत रहेका कांग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गरिन्। उनले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गरिन्।
कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गरे। उनले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसद आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षा गराए।
सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे। उनले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदलाई आ–आफनो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने पनि बताए।
यता, सत्तारुढ नेकपाका सांसदले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठक भने स्थगित गर्न नहुने धारणा राखेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।