|

विराटनगर : लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा २८ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी ८ जना अझै बेपत्ता छन् भने १९ जना घाइते भएका छन्। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा ३ जना, झापामा ३ जना, ओलढुंगामा ४ जना, भोजपुरमा ५ जना, इलाम र सुनसरीमा १/१ जनाको मृत्यु भएको छ। यस्तै उदयपुरमा ४, पाँचथरमा १, मोरङमा ३ र संखुवासभामा १ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो संखुवासभा र मोरङमा पानीमा डुबेर थप १÷१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै घाइतेहुनेहरुमा सबैभन्दा बढी धनकुटा रहेको छ। धनकुटामा ८ जना घाइते भएका छन्। यस्तै खोटाङमा १, झापामा २, भोजपुरमा २, सुनसरीमा २ र उदयपुरमा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

तथ्यांक अनुसार इलाम र मोरङमा बाढीले बगाएका अझै ३/३ जना वेपत्ता भएका छन्। यस्तै झापामा र सुनसरीमा १÷१ जना वेपत्ता छन्। घाइतेको उपचार र वेपत्ताको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा लाग्नुको साथै बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग प्रहरीले गरिरहेको बताइएको छ।

पानीमा बगेर दुई जनाको मृत्यु

प्रदेश १ अन्तर्गत मोरङ र संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। मोरङको सुनवर्षी २ मा पैनीले बगाउँदा मंगलबार  एक जना बालिकाको ज्यान गएको छ। इलाम घर भएकी ७ वर्षीया कृति तामाङको ज्यान गएको हो। फूपुको घर पथरीशनिश्चरे ६ केचनामा बस्दै आएकी तामाङ पैनीको बाटो भएर साइकल चलाउँदै गर्दा लडेपछि बगाएको थियो। उनीसँगै पनीमा बगेकी ११ वर्षीया सिर्जना तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको अमरदह प्रहरीचौकीका इन्चार्ज सुरेन्द्र थापाले जानकारी दिए। दुवैजना स्कुल छुट्टीको समयमा सुनवर्षी २ बाहुनडोवस्थित मामाघर गएका थिए। मध्यान्न १२ बजेको समयमा मावलदेखि अमरदह तर्फ साइकलमा चडेर हिडेका उनीहरू चढेको साइकल चिप्लिएर पैनीमा खसेको थियो।लगातारको वर्षाका कारण पैनीमा पानीको बहाव बढेका कारण मानवीय क्षति भएको बताइएको छ। 

उता संखुवासभाको मकालु गाउँपालिका ३ एकुवाकी ने ३४ वर्षीया मिङमा खङडु शेर्पाको बाढीले बगाएर मृत्यु भएको छ। सोमबार सांझ साढे ६ बजेको समयमा श्रीमान रिदाक शेर्पासँगै स्थानीय स्वास्थ्य चौकीबाट उपचार गरी फर्कने क्रममा बाटोमा पर्ने भ्यागुते खोलाले बगाएर मिङमा खङडु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रहरीचौकी स्याक्सिगोला र ईलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान अघि बढाएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.