|

सुनसरी : मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि झापाको सैनिक युथ क्लबले जितेको छ। मंगलबार धरान रंगशालामा भएको फाइनल खेलमा २–१ गोल अन्तरले मोरङको बेलबारी फुटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै झापाले नगद ५ लाख र ४ केजी चाँदीको रनिङ ट्रफि हात पारेको छ। उपाधि जितेको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट कप खेल्नका लागी एक नं. प्रदेशबाट छनोट भएको छ। उपविजेता भएको मोरङको बेलबारी फुटबल क्लबले नगद ३ लाख पुरस्कार जितेको छ। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बेलबारी फुटबल क्लबका भूषण सुब्बा घोषित भए। उनलाई नगद १ लाख प्रदान गरिएको थियो।

फाइनल खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरे। त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर झापाका मनोज प्रधान, बेष्ट स्ट्राइकर झापाका विकेश लिम्बू, बेष्ट कोच झापाका प्रवेश कटवाल र बेष्ट डिफेन्स झापाका विमान प्रसाद राई घोषित भए भने धरान फुटबल क्लबका उमेश राई प्रतियोगिताको बेष्ट मिडफिल्ड घोषित भए। उनीहरुलाई जनही २५ हजार नगद सहित ट्रफि  पुरस्कार प्रदान गरिएको थियो।

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको आयोजना एन्फाले गरेको थियो भने संयोजन प्रदेश १ सरकारले गरेको थियो। एन्फा र प्रदेश सरकारको सम्झौताअनुसार  प्रदेश १ बाट एन्फा प्रेसिडेन्ट कपमा २ टिम सहभागी हुने सम्झौता भएको छ। प्रदेश १ बाट २ टिम र अन्य प्रदेशबाट एक/एक टिम सहभागी हुने एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने एन्फाका सहायक महासचिव वसन्त अर्यालले जनाएका छन्। 

विवादै विवादबीच सम्पन्न 

सामान्यतया वर्षायाममा मैदान हिलाम्मे हुने भएकाले फुटबल प्रतियोगिता नगरिने भए पनि प्रदेश १ मा भने असारे झरीलाई बेवास्ता गरी मुख्यमन्त्री प्रदेश लिग गरियो। पहिलो पटक गरिएको लिग विवादै विवादमा मुछिएर सकिएको छ। असारे वर्षामा आयोजना गरेको भन्दै पहिलोपटक गरिएको लिग सुरुमै विवादित भएको थियो। आयोजक प्रदेश १ सरकारमाथि बजेट सक्नका लागि वर्षालाई बेवास्ता गरी लिग गरेको आरोप लाग्यो। दोस्रो चरणका खेल आयोजकले भनेको विराटनगरस्थित शहीद मैदानमा भएनन्।

पानी परेर हिलाम्मे भएकाले शहीद मैदानको साटो धरानका दुइ वटा मैदानमा खेल खेलाइने बताइएको थियो। तर उक्त मैदानमा पनि पानी जमेर खेल्न अयोग्य भएपछि फाइनल बाहेकका सबै खेल बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मैदानमा खेलाइयो। उपाधि बिजेता सैनिक युथ क्लब, झापाका प्रशिक्षक प्रवेश कटुवालले बेमौषममा लिग गराइदा खेलाडीलाई खेल्न गाह्रो भएका बताए।

उपबिजेता बेलबारी फुटबल क्लब मोरङका साहयक प्रशिक्षक सुनिल पोखरेलले आयोजकले बजेट फ्रिज हुने डरले प्रतियोगिता गराइएकाले लिगले रौनकता नपाएको बताए। यी बाहेक म्याच फिक्सिङ गरिएको भनेर पनि लिग विवादित भएको छ।

समूह चरणमा तेह्रथुम, धनकुटा र सुनसरीको समान ८ अंक रहेकामा अन्तिम खेलमा सुनसरीले भोजपुरलाई ९–१ र धनकुटाले संखुवासभालाई ७–२ गोलअन्तरले हराएपछि तेह्रथुम प्रतियोगिताबाट बाहिरिएकाले म्याच फिक्सिङको आरोप लागेको हो। यद्यपि म्याच कमिस्नार दीपक राईले भने म्याच फिक्सिङ भएको उजुरी परेको बताए। तर यसमा कुनै सत्यता नभएको बताउदै लिग बिवादित बनाउने सड्यन्त्र भएको दाबी गरे।

आयोजक कमिटीका संयोजक एवं एन्फा प्रवक्त किरण राइले केही कमी कमजोरी भएको स्वीकार्दै आगामी दिनमा यस्ता गल्ती कमजोरी दोहोरिन नदिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.