|

अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।    

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आफूहरूमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ।    

अस्पताल एवं स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।    

उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिले मंगलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि मंगलबार मतदान गरेका बताइएको छ।    

उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ।    

उनीहरूले अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सुरक्षाको माग गरेका छन्। थप सुरक्षा व्यवस्था नहुँदासम्म आफूहरूले काम नगर्ने उनीहरूले जनाएका छन्।    

न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भने– 'अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँ माथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ।'    

'हामीले अहिले जे देखिरहेका छौँ। त्यसलाई आधारभूत रुपमा नै परिवर्तन गर्ने बेला हो यो' उनले भने। मजदुर प्रतिनिधिले अति भएर नै यो मतदान गरेको उनको भनाई थियो।    

उनले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरूले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि उनले जानकारी दिए।

एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४६५ ओटा आक्रमणका घटना भएका थिए। पहिलो पटक वर्ष दिनमा यतिधेरै आक्रमणका घटना भएकोले आफूहरूमा असुरक्षा महसुश भएको पनि उनले बताए।    

उनले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका विरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै विरामी र कहिलेकाहीँ विरामीका आफन्तहरुले पनि स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिए।    

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् सबै कर्मचारीहरुमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरुले विगत लामो समयदेखि बताउँदै आएका छन्।    

यहाँका चिकित्सकहरुले आफूहरुले जहिले पनि विरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन्।    

उनीहरुले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका विरामीहरुलाई कुनै पनि किसीमको अप्ठेरो नपार्ने नीति आफूहरुको रहेको पनि बताएका छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.