जुम्ला : पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमै सुत्केरी हुने गरेका छन्। अन्धविश्वास र रुढीवादी चिन्तनका कारण महिलाहरु अझै घरमै सुत्केरी हुने गरेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए।
ग्रामीण क्षेत्रका महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने, स्वास्थ्य–संस्थामा सुत्केरी गराउन लैजाँदा बाटोमै भए फर्काउने चलन रहेका सहसंयोजक बुढथापाले बताए।
घरमा हुने सुत्केरी हुनेको संख्या बढी भएकाले यस दरलाई घटाउन गाउँपालिकाले अभियान सुरु गरेको छ। गाउँपालिकाअन्तर्गत रहेका चार स्वास्थ्य संस्थामध्ये दुईमा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको बाँकीमा यसै महिनादेखि सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। उनका अनुसार पट्मारा र पातारासी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी रहेको छ।
गाउँपलिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्यु दरलाई शून्य बनाउन अभियानको सुरु गरेको छ। जसअनुसार स्वास्थ्य संस्थामा गएर सुत्केरी भए गाउँपालिकाले तीन हजार रुपैयाँ शिशुको नाममा जम्मा गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर बुढथापाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।