|

काठमाडौं : अविरल वर्षापछि आएको बाढीलाई भारतीयपक्षले बाँध थुनेर छेकिदिँदा डुबानमा परेको रौतहतको अवस्था बुझ्न सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चारजना मन्त्रीसहित बुधबार गृहजिल्ला पुगेका छन्। 

रौतहट र प्रदेश २ मा बाढीले गराएको क्षतिको अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बुधबार गौर गएका हुन्। 

गत शुक्रबारदेखिको वर्षाका कारण शनिबारबाट रौतहट पनि डुबानमा परेको थियो। प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ। डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ। महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५-५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ। 

डुबानको अवलोकनमा पुगेको सरकारी टोलीमा संसदको विकास समिति सभापति कल्याणी खडका र नेकपा सांसद प्रभु साह पनि छन्। रौतहटमा बागमती र बकैया नदीको बाढी बस्तीमा छिरेको थियो। त्यससँगै सीमामा भारतीय पक्षले समयमा बाँध नखोलिदिँदा नेपालको ठूलो क्षेत्र डुबेको हो। भारतले बैरगनियास्थित बाँधको ढोका नखोलेपछि सदरमुकाम गौर अझै जलमग्न छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.