अभागी बुवा : रुन्छन्, आँसु पुच्छन् अनि मन बुझाउँछन्

|

काठमाडौं : असार २८ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। सपनाको भारी बोकेर देश छोड्नेको लाइन छ। कोही विदेशमा पसिना बगाएर फर्केकालाई भेट्न आत्तुर छन् त, कोही विदेश उड्न लागेका आफन्तको विदाइमा उदाश मन लिएर उभिएका। विछोडको पीडाले विदेशिन लागेका आफन्तको आँसु रोकिएका छैन। अर्कातिर कोही लामो समयपछि परदेशबाट फर्किएकालाई स्वागतमा बस्दा खुसीको आँसु धारावाहिक झारिरहेका छन्।

आगमन कक्षको परपरसम्म आफ्ना आफन्त आउने द्वारतिर आफन्तहरूका आखा दौडिरहेका छन्। वर्षौंअघि छुटेका आफ्ना सन्तान र आफन्तलाई एक झलक हेर्ने लालसा अनुहारमा प्रष्ट देखिन्छ।

बाहिर रिमझिम वर्षा छ। घरी घाम लाग्दै छ। फेरि एकै छिनमा बादलले आकाश ढाक्छ। विमानस्थलमै उभिएका ऋषिराम पौडेलको अनुहारमा आकाशको भन्दा कालो बादल मडारिएको छ, लाग्छ उनी भित्रको बादलबाट आरी घोप्ट्याए जसरी पानी पर्न खोज्दैछ। उनै ऋषिरामका आँखा पनि आगमन कक्षको ढोकाको परसम्म पुगेर सल्बलाइरहेका छन्। हेर्दा हेर्दै उनका आँखाबाट आँसुको बर्षात् सुरु हुन्छ। मनको पीडा लुकाउँदै आँसु झारिरहेका उनी रूमालले आँखा पुछिरहेका छन्।

अरुका छोरा आफन्त हाँसी हाँसी आउँदैछन् तर उनको कथा अर्कै छ। ऋषिका छोरा झोला भिरेर होइन कफिनमा पोको परेर फर्किँदैछन्। पितृसत्तात्मक नेपाली समाजका उनी एउटा पुरुष सदस्य। समाजले छोरो मान्छे रुनु हुँदैन भन्छ। रोयो भने कम्जोर ठानिदिन्छ। कसले सुरू गर्‍यो होला यस्तो नियम? उनले मन खोलेर रुन पनि पाएका छैनन्। आँखाबाट बलिन्द्र आँसु झार्छन्, यसो कोल्टे फर्किन्छन् अनि रुमालले पुच्छन्।

रंगिन सपना देखेर विदेश पुगेका बाँके कोहलपुरका दिपेश पौडेल अभागी बाबु हुन् ऋषिराम। हाँसी हाँसी विदेश उडेका दिपेश कफिनमा फर्किँदैछन्।  ऋषिरामको मनले भनिरहेको छ, छोराले बुवा म फर्किआएँ नि भनिदिए हुन्थ्यो। तर दिपेश न बोल्छन्, न हाँस्छन्, न आएँ भन्छन्। उनको हाँसो र त्यो बोली विदेशमै निस्तेज भइसक्यो। आउँदैछ त केबल हाड छालाले भरिएको एउटा मृत शरीर। ऋषिका जेठा छोरा हुन् दिपेश। दिपेश जन्मिँदा घरमा भित्रिएको खुसी वैदेशिक रोजगारीले खोसिसक्यो। अब त्यो खुसी कहिल्यै फर्किने छैन। एउटा बाबुले छोराको लास देख्नु जस्तो पीडादायी क्षण अरु के हुन सक्ला? 'कसैको कुभलो चिताउँदैनथियो', आँसु लुकाउने असफल प्रयास गर्दै ऋषि सुनाउँछन्, 'सबैलाई राम्रै व्यवहार गर्थ्यो। खै! कसरी यति छिट्टै भगवानको प्यारो भयो।'

दिपेश कफिनमा पोको परेर फर्किएसँगै एउटा सुखी परिवार उजाडिएको छ। पौडेल परिवामा दैवको कर्के नजर लागेको छ। देशले लाउँलाउँ खाउँ खाउँ उमेरको एउटा युवा गुमाएको छ। दिपेश विदेशमै बितेको खबरले उनको गाउँमा सन्‍नाटा छाएको छ।

दुई चार पैसा कमाउने सपनामा विदेश गएका उनी अब छोरासँग बोल्न सक्ने छैनन्। लास भएको छोराले वृद्ध बुवाको हालखबर सोध्‍न सक्ने छैन। बुढेसकालकको सारथी होला भन्‍ने छोरो नै कफिनमा फर्किएपछि भगवनमाथिको विश्वास नै टुटेको छ। 'भाइहरू पढाएर ठूलो मान्छे बनाउँछु भन्दै विदेश उडेथ्यो', आँसुले भिजेका परेली पुछ्दै ऋषि सुनाउँछन्, 'तर म अभागीले विदेशी भूमिमै छोराको प्राण पखेरु उडेको खबर सुन्‍नुपर्‍यो।' 

गाउँमै बुवाआमा किसानी गर्छन्। उनले भर्खर १२ पास गरेका थिए। बाको कमाइले मात्रै घरको आवश्यकता पुरा गर्न छाड्यो। घरको पीडा बुझेरै २३ वर्ष टेक्दै गरेका दिपेशले विदेशी भूमि टेक्ने निर्णय गरे। बाआमाको मुहारमा खुसी ल्याउने वाचासहित दिपेश ८ महिनाअघि मलेसिया उडेका थिए। तर दैवको लीला उनी कफिनमा फर्किए। मलेसियामा छोराको प्राणपखेरु उडेपछि पौडेल परिवारमा अन्धकार छाएको छ।

वैंशमै छोरो दैवको प्यारो भएपछि यो परिवारका लागि पर क्षितिजबाटै उज्यालो हराएको छ। मलेसियामा दिपेशको प्राण एउटा ट्रकले खोस्यो। ट्रकको ठक्करबाट ठक्करबाट मृत्यु भएको हो। उनलाई मलेसिया पठाउने मेनपावरले शव नेपाल ल्याउन समय लाग्ने बताइदियो। त्यसपछि सांसद विमला विक, युवा नेता हरिसदेव गौतम र प्रवेश महतको पहलमा शव नेपाल झिकाइयो।  श्रम मन्त्रालय र वैदेशिक रोजगार पर्वद्धन बोर्डले दिपेशको शव नेपाल ल्याउन सहजीकरण गरिदियो।

मलेसियामा रहेका मिलन पुन र बिनोद परियारले नेपाली दूतावासमार्फत शव पठाउन पहल गरिदिए। एअरपोर्टमा भेटिएका रेशम थापाले वैदेशिक रोजगारमा जाने नेपाली युवाको नियति यस्तै रहेको पीडा सुनाए। 'परदेशको तातो घाममा खटिनुपर्छ। केही गल्ती भए जेल जीवन भोग्नुपर्छ', उनले भने, 'अन्य कुराबाट जोगिए दिपेशले झैँ सवारी दुर्घटनामा ज्यान जाने। यस्तै नियतिले नेपाली युवाको परदेशी जीवन कष्टकर छ।'

देशमा लगानीको वातावरण छैन। देशमै युवा रोजगारलाई प्राथमिकता भन्दा लोकप्रियता बटुल्न सरकारले बजेट बनाउँदा युवा विदेशिन विवश छन्। कतार जाँदै गरेका लमजुङमा एक युवाले परम्परावादी शिक्षाले सबै कुरा बिगारेको गुनासो गरे। उनले प्राविधिक शिक्षामा युवाहरूको पहुँच नहुनुले नेपाल रित्तिँदै गएको सुनाए। युवालाई स्वदेशमै परिचालन गर्ने प्रधानमत्रीको भाषण सरकारको देखाउने दाँतमात्रै भएको गुनासो गरे।

सरकारले प्रधानमन्त्री स्वरोजगारको कार्यक्रम ल्याए पनि सहीरुपमा कार्यान्वयन हुन सकेको छैन। 'श्रममन्त्री विभिन्‍न देशसँग श्रम सम्झौता गरेर युवाहरूलाई विदेश निर्यात गर्ने ध्याउन्‍नमा छ्न', ती युवा भन्छन्, 'युवालाई स्वदेशमै परिचालन गर्ने प्रधानमन्त्रीको भाषण र श्रममन्त्रीको श्रम सम्झौता नै विरोधाभाषपूर्ण छ।'

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका तीनजनाको लास दैनिक घर आउने गर्छ। वि.सं. २०७४/७५ मा वैदेशिक रोजगारीमा गएकामध्ये ६८६ जनाको शव ल्याइएको छ। यीमध्ये मालिकको यातना सहन नसकेर र पारिश्रमिक नपाउँदा भोग्नुपरेको पीडाले आत्महत्या गर्नेको संख्या पनि धेरै छ। मुत्यु हुनेमध्ये २५ प्रतिशतले आत्महत्या गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.