|

काठमाडौं : हरियालीको महिना साउन सुरु भएको छ। यो महिना सुरु भएसँगै नेपालमा चाडपर्वको याम पनि पसेको छ। साउन लागेसँगै हरियो नेपाली नारीहरुले चुरापोते लागाएर आफूलाई सजाउँछन्। साउनसँगै हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै विक्री हुन्छ।

साउन महिलाहरुका लागि ब्रतको महिना पनि हो। यो महिनामा हिन्दुहरुका आराध्यदेव शिवजीको पूजा गरिन्छ। यही महिना हरेक सोमबार शिवजीको मन्दिरमा जल चढाउन बोलबम पनि जाने गरिन्छ। यो महिनाम चुरा र पोते ब्यापारीहरुले आफ्नो भाग्य चम्किएको ठान्छन्। 

राजधानीका असन र इन्द्रचोकस्थित चुरा पोते पसलमा ग्राहकले भरिन थालेका छन्। पहिलो दिन नै मेहन्दी र हरिया चुरापोते किन्‍ने महिलाहरुको भिड लाग्न थालेको छ।

आखिर किन साउनमा प्रयोग हुन्छ त हरियो रंग।  ज्योतिषीहरुका अनुसार हरियो सौभाग्यको रंग मानिन्छ। साउनमा प्रकृति नै हरियाली हुन्छ। प्रकृति आफैँ पनि हरियो रंगले सिंगारिएको हुन्छ। साउनलाई मानिसले प्रकृतिसँग जोडिने महिनाकारुपमा पनि लिन्छन्। नेपाली समाजमा प्रकृतिको साथ रहेमा आफ्नो भाग्यमा पनि राम्रो प्रभाव पर्ने विश्वास गरिन्छ। 

नेपालीले प्रकृतिलाई इश्वरका रुपमा पूजासमेत गर्छन्। हरियो चुरा र साडीमा सजिएर महिलाले साउनभर प्रकृतिको पूजा गरिरहेका हुन्छन्। यसले महिलामा नयाँ ऊर्जा दिने र श्रीमानको आयु बढ्ने विश्वास पनि गरिन्छ। 

साउनमा हरियो पोशाकमा सजिँदा भगवान शिव प्रसन्‍न हुने धार्मिक उक्ति छ। भगवान शंकर प्रकृतिकै एक अंग हुन्। प्रकृतिसँग जोडिने भक्तजनको मनोकांक्षा शिवजीले पुरा गरिदिने विश्वास नेपाली समाजमा छ। साउनमा हरियो रंगको चुरा लगाउने महिलासँग भगवान विष्णु पनि खुसी हुने विश्वास छ। 

हरियो रंगलाई प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। हरियो रंगको सम्बन्ध उपचार र मुटुसँग पनि जोडिएको हुन्छ। वास्तुशास्त्रमा विवाहित दम्पत्तिका लागि पनि हरियो रंगको उचित प्रयोग गर्न जाने दाम्पत्य जीवन सवल हुने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.