विराटनगर : भारतको जोगवनीबाट लागुऔषध ल्याउने एक प्रहरी जवान पक्राउ परेका छन्।
जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताए।
उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ। साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो।
प्रहरी नायब उपरीक्षक खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ।
पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।