|

ललितपुर :  भौतिक पूर्वाधार तथा यातायात मन्‍‍‍‍त्री रमेश लेखक गत मंसिर १४ गते ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था विभाग पुग्दा त्यहाँ लामै लाइन थियो।लाइनमा लागेका एक युवालाई उनले सोधे 'के का लागि लाइन लागेको हो?' ती युवाले सवारी लाइसेन्सको फारम भर्नका लागि लाइन बसेको उत्तर दिए। लामो लाइन देखेर लेखकले अर्को प्रश्‍न सोधेछन्, 'कति बेलादेखि लाइन लागेको? ती युवाले भनेछन्, 'हिजो राति ११ बजेदेखि।' 

आइतबार यातायात व्यवस्था कार्यालयमा मन्‍‍त्री लेखकले यो संवाद संम्झिए। उनले त्यतिबेला गरेका तीनवटा वाचा पनि सम्झिए 'म त्यो दिन साढे ११ बजेतिर यो कार्यालयमा आएको थिएँ, ती युवा त्यहाँ अघिल्लो राती ११ बजेदेखि लाइनमा लागेका रहेछन् फारम भर्नका लागि।'

'मैले त्यतिखेर यातायातका अधिकारीलाई भनेका थिए, लाइसेन्सको फारम अनलाइनबाट भर्ने व्यवस्था गर्नुस्, यातायातका थप कार्यालय खोल्नुस्, स्मार्ट लाइसेन्सको व्यवस्था गर्नुस्' लेखकले भने, ' थप ३ वटा व्यवस्था कार्यालय खोलेका छौं । अब कलंकी, चाबहिल र भक्तपुरमा पनि कार्यालय खुल्नेछ। त्यहाँबाट यातायतका सबै काम हुनेछन्।' 

मन्त्री लेखक आइतबार दिउँसो ३ बजे यातायात व्यवस्था कार्यालमा पुगेका थिए झन्डै महिनादिनपछि। उनी त्यहाँ गरेको वाचाको परिणामसहित आएका थिए। जसले त्यहाँको लामो लाइन लाग्‍ने कष्टकर कामको अन्त हुनेछ। तर, उनलाई त्यो काम गर्न सजिलो  भएन। 'मैले यो काम गराउनका लागि कठोर शब्दमा पनि निर्देशन दिनुपरेको थियो' मन्त्रालयका अधिकारी र यातायात व्यवस्था विभागका अधिकृतितिर इंगित गर्दै मन्त्रीले भने। 

मन्त्री लेखकको 'कठोर निर्देशन' काम गर्‍यो, जसको फलस्वरुप सोमबारदेखि ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अगाडि लामो लाइन लागेको देखिने छैन। आजसम्म त्यहाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) को फारम भर्नेको लाइन हुन्थ्यो। अब त्यो लाइन हट्ने छ। आइतबारदेखि लाइसेन्सको अनलाइन फारम भर्ने व्यस्था गरेसँगै त्यहाँको लाइन हट्नेछ।

लाइसेन्सको फारम अनलाइनबाटै भरिने भएपछि सेवाग्राहीलाई अवश्य राहत मिल्नेछ। तर, यो व्यवस्था सबैतिरका ग्राहकलाई पुग्‍न केही समय लाग्‍नेछ।

अनलाइनबाट लाइसेन्स पाउन थाहा पाउनैपर्ने तथ्यहरुः

१. एकान्तकुनाका लागि मात्र फारम भर्न सकिने 

अनलाइनबाट भरिने फारम हाललाई ललितपुरको एकान्तकुनाका लागि मात्रै हुनेछ। पछि उपत्यका र उपत्यका बाहिरका यातायात कार्यालयमा पनि यो सेवा बिस्तार गरिनेछ। सेवाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, 'यो सुरुवात मात्र हो। अब यसको निरन्तर बिस्तारमा लाग्‍नेछौं।'

२. दुई पांग्रेका लागि मात्र यो सेवा

अनलाइनबाट लाइसेन्सका लागि फारम भर्दा २ पांग्रेका लागि मात्रै स्वीकृत हुनेछ। एक महिनापछि ४ पांग्रे सवारीको लाइसेन्सका लागि पनि अनलाइनबाट नै फारम भरिने जानकारी दिइयो। 

३. २४ घण्टामा ५०० फारम मात्र

लाइसेन्सका लागि एक दिनमा ५ सय मात्र फारम भर्न पाइने व्यवस्था  छ। ५०० फारमको सीमा पुगेपछि भने 'आजलाई फारम भर्ने सीमा सकियो' भन्‍ने सन्देश आउने कम्प्युटर इन्जिनयर राजकुमार महर्जन र केशवराज गौतमले जानकारी दिए। तर, सुरुवाती चरणमा भएकोले यस्तो गर्नुपरेको मन्त्री लेखकले जानकारी दिए। कर्मचारी व्यवस्थापन गरेर फारम लिने संख्या २ हजारसम्म पुर्‍याउने मन्त्री लेखकले जानकारी दिए।

४. फारम भरेको दोस्रो दिन उपस्थित हुनुपर्ने

अनलाइनबाट फारम भरेपछि एक नम्बर मिल्नेछ। त्यो नम्बर टिपेर सेवाग्राहीले त्यसको दोस्रो दिन कार्यालय समयभित्र यातायात कार्यालय जानुपर्नेछ।

५. फारम भरेको दोस्रो दिन विदा भयो भने के गर्ने?

यो प्रश्न मन्त्री लेखकले पनि गरेका थिए विभागका अधिकारीलाई। उनले सुझाव पनि दिएका थिए, 'विदाको दोस्रो दिन यातायात कार्यालयमा जाने।'

६. फारम भरेको दोस्रो दिन यातायात कार्यालय जानुभएन भने?

यातायात व्यवस्था कार्यालयले जानकारी दिएअनुसार फारम भरेको अर्को दिन (सार्वजनिक विदा भए त्यसको भोलीपल्ट) कार्यालयमा नगए फारम स्वतः रद्ध हुनेछ।

७. स्मार्ट कार्डका लागि मात्रै अनलाइन फारम

लाइसेन्स स्मार्ट कार्डबाट मात्रै वितरण हुन लागेको छ। आज सुरु गरिएको अनलाइन फारम भर्ने व्यवस्था पनि स्मार्ट कार्डका लागि मात्रै हो।

८. मलाई अनलाइन जान्दिन, फारम भर्नु छ! के गर्ने?

अनलाइनबाट फारम भर्न आउँदैन वा सुविधा छैन भने तपाईँले यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने हुन्छ। केही समयका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले पनि कागजी फारम स्वीकार गर्नेछ। तर, उक्त कार्यालयले केही महिनापछि भने यो कागजी फारम स्वीकार गर्ने छ।

यस्तो छ अनलाइन फाराम

यस्तो छ फारम भर्ने तरिका : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.