|

काठमाडा‌ै‌ं : सयौं मानिसको ज्यान जाने गरी भारतको मुम्बईमा भएका श्रृंखलावद्ध आक्रमणका मुख्य योजनाकार हाफिज सइद पाकिस्तानमा पक्राउ परेका  छन्। सइदलाई त्यहाँको प्रहरीले लाहोर सहरबाट पक्राउ गरेको हो।

पञ्जावको आतंकवादनिरोधी विभागको टोलीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। पक्राउपछि उनलाई लाहोरको कोट लखपत जेलमा पठाइएको छ। उनलाई पाकिस्तान सरकारले चरमपन्थीहरुका लागि खाद्य सामग्री आपूर्ति गर्न गैरकानूनी रुपमा चन्दा जुटाइरहेको आरोपमा पक्राउ गरेको हो । जमात-उद-दावा (जेयुडी) का प्रमुख रहेका सइदविरुद्ध पाकिस्तानी अधिकारीहरुले जुलाई पहिलो हप्ता मुद्दा दर्ता गरेका थिए ।

सइदमाथि गैह्रसरकारी संस्था स्थापना गरी आतंकवादको प्रोत्साहनमा प्रयोग गरेको आरोपसमेत छ। पक्राउ परेपछि हाफिजले यसविरुद्ध अदालत जाने बताएका छन्। पाकिस्तानी अधिकारीहरुले जेयूडी र लश्कर-ए-तैयबाको गढ र आतंकवादी गतिविधिका लागि रकम जुटाउ ट्रस्टहरुको प्रयोग भइरहेकोबारेमा अनुसन्धान गरेका छन् । 

को हुन् हाफिज

पाकिस्तानमा जमात-उद्-दावा जेयुडी नामक संगठन चलाइरहेका हाफिज आतंकवादी संगठन लश्कर-ए-तैयबाका संस्थापकसमेत हुन्। उनी सन् २००८ मा १ सय ६४ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको श्रृंखलाबद्ध आक्रमणका मुख्य योजनाकार मानिन्छन् ।

अमेरीकाको वित्त विभागले सइदलाई आतंकवादीको सूचीमा राख्दै उनको टाउकोको मूल्य एक करोड डलर तोकेको छ । अमेरिकाले सन् २०१२ देखि सइदबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।

हाफिजलाई सन् २००६ मा मुम्बईमै भएको रेल विस्फोटमा पनि जिम्मेवार मानिएको छ । सन् २००१ मा भारतीय संसदलाईसमेत निशाना बनाएका हाफिजका दुवै संगठन जेयुडी र लश्कर-ए-तैयबालाई भारतसहित अमेरिका, बेलायत, युरोपेली संघ, रुस र अष्ट्रेलियाले  प्रतिबन्ध लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.