|

पर्सा : आर्थिक बर्ष ०७५⁄०७६ मा नेपालकै प्रमुख भन्सार नाका वीरगन्जले लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ। राजश्व विभागले विरगन्ज भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको लक्ष्यभन्दा गएको आर्थिक वर्षमा वीरगन्ज भन्सारले निकै कम राजश्व संकलन गरेको हो। 

राजश्व विभागले वीरगन्ज भन्सार कार्यालयलाई दिएको लक्ष्यमा नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसीपी) र पुरानो वीरगन्ज भन्सार कार्यालय दुवैतर्फबाट राजश्व संकलन गर्दा पनि ८५ दशमलब ९७ प्रतिशत मात्र राजश्व संकलन भएको वीरगन्ज भंसारको तथ्यांकमा उल्लेख गरिएको छ। यो लक्ष्यको तुलनामा १४ दशमलव शून्य ३ प्रतिशतले कमी हो।

गएको आर्थिक वर्षका लागि राजश्व विभागले वीरगन्ज भंसार कार्यालयलाई १ खर्च ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले १ खर्ब ४७ अर्ब ५२ करोड ५९ लाख ८१ हजार मात्र राजश्व संकलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले बताए। यो लक्ष्यभन्दा २४ अर्ब ७ करोड ९८ लाख ६५ हजारले कम भएको उनको भनाइ छ।

अन्तिम समयसम्म पनि लक्ष्य पुर्‍याउने प्रयास गर्दा लक्ष्य पुग्न नसकेको सूचना अधिकारी महतोको दावी छ। तर, महतोको दावीसँग स्थानीय आयातकर्ता र दैनिक भंसारमा कारोवार गर्ने कारोवारीहरू भने पूर्ण रूपमा सहमत छैनन्।

भन्सारका कर्मचारीको अर्थ लाभको एकांकीशैली पनि राजश्व लक्ष्यमा प्रतिशत तलमाथि गर्ने एउटा कारण भएको उनीहरूको तर्क छ। यसो भन्नेहरूले आफ्नो नाम भने खुलाउन चाहेनन्।

अघिल्लो आर्थिक बर्ष ०७४⁄०७५ मा भने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको तुलनामा ८८ दशमलब २८ प्रतिशत प्रगति गरेको थियो। यो भनेको कुल लक्ष्यमा १६ अर्ब २९ करोड ११ लाख ४४ हजारले मात्र कमी थियो।

तर गएको आबमा भने गतवर्षको अनुपात पनि नकटेको पाइएको छ। कुल राजश्व संकलनको अनुपात कटे पनि लक्ष्यको अनुपात भने नकटेको वीरगन्ज भन्सारले स्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.