|

गुल्मी :  विगतका वर्षमा जस्तै यस वर्ष पनि साउन महिनाभरि एक महिने मेला बुधबारबाट   सुरुभएको छ।  एक महिनासम्म चल्ने मेलामा रेसुंगामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले अहिलेसम्म गरिएका पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको रेसुंगा सरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए।

मेला अवधिभर धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन लगायतका विविध कार्यक्रमको पनि आयोजना गरिएको भुसालले बताए। बुधबार भने पूजापाठ नहुने भुसालले बताए। चन्द्रग्रहणको लागेको २ दिनसम्म सुतक रहने भएकाले पूजापाठ नगरिने भुसालले जानकारी दिए।

सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुंगा धार्मिक,पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो। समुन्द्र सतहबाट ८ सय मिटरदेखि २ हजार ३ सय ५० मिटरसम्म उचाइमा रहेको छ।

यस पहाडको नाम रेसुंगा रहनुमा बिभिन्न कारण र किम्बदन्ती रहेका छन्। त्रेता युगमा महर्षि ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुंगा नामकरण भएको हो भन्ने भनाई कतिको छ भने यो क्षेत्र मगरात क्षेत्र भएकोले यो मगर भाषामा रेस भनेको 'नुहाउनु'मा उपसर्ग जोडेर रेसुंगा नामकरण रहेको हो भन्ने भनाइ पनि कसैकसैको छ।

साथै श्रीकृष्णले रेसुंगामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपस्वीहरूको वर्षे आश्रम रेसुंगा नै थियो भनेर भनिन्छ। महाप्रभु लक्ष्मी नारायणबाट निर्मित पोखरी हिन्दु धर्मावलम्वीहरूका लागि सबै भन्दा पवित्र र सबै तीर्थ नदीको जल मिसाइ निर्माण गरिएको हो। यस ठाउँमा हरिशयनी, हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरूको भीड लाग्दछ। यस पोखरीमा नुहाउनाले पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

रेसुंगाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा गुल्मीका अधिकांस भूभागलगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा र प्युठानसम्मका स्थान स्पष्ट देख्न सकिन्छ।

यसको महत्व र व्यापकतालाई बुझेर प्रचार प्रसार र संरक्षणका निम्ति केही समययता विभिन्न क्षेत्रबाट सक्रियता देखाइनुका साथै समग्र विकासका लागि गुरु योजना तयार कार्य सम्पन्न भइसकेको छ।

यसलाई आधार मानेर ग्रामीण पर्यटन प्यारालाइडिङ, चट्टान आरोहण, पैदल यात्रा, घोडा चढी, माउण्टेन बाइकिङजस्ता कार्यक्रमहरू अगाडि बढाउन सके यसको विकास अझै द्रुत गतिमा हुने सोकारवालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.