शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन विशेष प्राथमिकतामा

|

भद्रपुर, (झापा) : शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकता राखेर कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

भारतीय सीमा नाकासँग जोडिएको नेपालकै सबैभन्दा होचो भू–भाग रहेको यस गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकता राख्दै ४७ करोड ६० लाख बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको चौथो गाउँसभाबाट पारित नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले प्रतिनिधि सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा बुधबार पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा केन्द्रीय सरकारको वित्तीय समानीकरणबाट १२ करोड ६० लाख, राजश्व बाडफाडबाट ९ करोड ६२ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण तथा राजश्व बाडफाडबाट ५५ लाख ५४ हजार, आन्तरिक आयबाट २ करोड, केन्द्रीय सरकारको सशर्त अनुदानबाट १६ करोड ३४ लाख, तराई मधेस समृद्घि कार्यक्रमबाट १० करोड, सङ्घीय तथा प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमबाट २ करोड ५० लाख र अन्य स्रोतबाट २ करोड ९८ लाख ५५ हजार रहेको जानकारी दिए।

चालु खर्चमा ६ करोड ८१ लाख, सशर्त अनुदान चालु खर्चतर्फ १३ करोड ७६ लाख ९४ हजार र पुजिगज खर्चतर्फ २ करोड ५७ लाख ६ हजारी गरी जम्मा १६ करोड ३४ लाख, शिक्षामा १० करोड, स्वास्थ्यमा १५ करोड, कृषिमा ७ करोड ५० लाख, संस्कृति तथा पर्यटन विकासमा १ करोड ५५ लाख, पशु सेवामा ३ करोड ५० लाख, सहकारीमा ५० लाख, महिला तथा बालबालिकामा १ करोड, वनमा १० लाख, युवा तथा खेलकुदमा १० लाख , खानेपानीमा ५ लाख, विद्युतमा ५० लाख लगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरेको अध्यक्ष आलमले जानकारी दिए। यता गत आर्थिक वर्षमा गाउँपालिकाको बजेट ५३ करोड २१ लाख २५ हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगरले जानकारी दिए।

निःशुल्क शिक्षादेखि पर्यटन प्रवर्द्धन सद्भावना दूतमा गायक खरेलसम्म

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि देखि कक्षा १२ सम्म सबै विद्यार्थीहरूलाई  निःशुल्क शिक्षा तथा छात्रालाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिउको, एक वडा एक नमुना बाल कक्षा सञ्चालन गर्ने, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षाको व्यवस्था , मदरसा र गुरुकुल शिक्षालाई विद्यालय शिक्षासँग अवद्घ गदै जाने, सुलभ औषधि पसल सञ्चालन गर्ने विद्यालयको पढाइमा पुरस्कार र दण्डको व्यवस्था गर्ने, प्राथमिक स्वास्थ्य चौकी बनियानीमा मृगौलाका रोगीहरूलाई डायलासिस सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ।

त्यसैगरी खेत बाझो नराख्न कृषकलाई मोटर बोरिङ, मल, बिउ तथा औजार वितरण गर्ने, आर्गनिक खेतीलाई विशेष प्राथमिकता र प्रोत्साहन प्रदान गर्ने, माछा पालन र आर्गनिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था, धान सुपरजोनको कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने, स्थानीय हाटबजारमा स्थानीय कृषकले आफै उत्पादन गरेर स– साना इकाईमा विक्रीका लागि ल्याउने फलफुल तथा तरकारी जन्य बस्तुहरूमा लाग्दै आएको दैनिक हाटबजार कर हटाउने नीति गाउँपालिकाको रहेको छ।

त्यसैगरी, निर्माणाधिन पुल कल्भर्ट र बाटाहरू यसै वर्ष सम्पन्न गर्ने र बाकी सबै स्थानका पुल कल्भर्टहरु यसवर्षबाटै एकसाथ निर्माण कार्य प्रारम्भ गर्ने, जैविक विविधता र वन्यजन्तुका हिसाबले अत्यन्तै महत्त्वपूर्ण जलथल जङ्गल र नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको पर्यटकीय विकास र प्रवर्द्धनमा विशेष काम गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाको छ।

त्यसैगरी, कचनकवलको आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनका लागि कचनकवल निवासी नेपालकै ख्याति प्राप्त गायक प्रमोद खरेललाई कचनकवल सद्भावना दूत नियुक्त गरिएको, बेरोजगार युवा लक्षित तालिम केन्द्र र स्वरोजगार कोषको स्थापना, सीप भएका र तालिम केन्द्रमार्फत सीप सिकेका युवालाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋणको व्यवस्था, ३०० जनाभन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरण मैत्री रोजगार मूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारको स्थानीय कर छुट दिने र बिजुली बाटो लगायतका पूर्वाधार निर्माणमा गरिदिने नीति गाउँपालिका रहेको छ।

त्यसैगरी, विकास निर्माणका कार्यहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन महिला मात्र सहभागी भएको टोल विकास संस्थालाई स्थायी उपभोक्ता समितिको रूपमा जिम्मेवारी प्रदान गर्ने, आर्थिक रूपमा कमजोर तथा सामाजिक हिसाबले पछाडि परेका गन्धर्व जातिलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था, कचनकवल डुबानका मुख्य कारणहरू मेची नदीको भद्रपुर ३ को भैसाबारी, कचनकवल ५ को पाठामारी, कचनकवल ४ को पोकलावान र विरिङ नदीको बाह्रदशी १ को भागडुब्बा खण्डमा तटबन्धन कार्य सम्पन्न गरी कचनकवल डुबान समस्या सधैंका लागि अन्त्य गर्न सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउने, आगामी दिनमा करका दरमा वृद्धि भन्दा आम्दानीको स्रोतहरूको विकास र पहिचानलाई प्राथमिकता प्रदान गर्ने नीति तथा कार्यक्रमहरू प्रमुख प्राथमिकतामा रहेको अध्यक्ष आलमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.