|

रौतहट : बाढीबाट पीडित जनताको गुनासो सुन्न र स्थलगत अनुगमन गर्न भनेर आएका संघीय सरकारको मन्त्रीको लर्को गुनासो नसुनी फर्किएको छ। रौतहटमा बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न आएका पूर्वप्रधानमन्त्रीसहित मन्त्रीहरूको टोली पीडित जनता नभेटेर फर्किएका हुन्।

बुधबार हेलिकोप्टरबाट रौतहट आएका मन्त्रीहरूसहित सांसदको जम्बो टोली हेलिकप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन्। पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पूर्वमन्त्री रौतहट क्षेत्र ३ का सांसद एव नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, विकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्का लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकोप्टरबाटै अनुगमन गरेका थिए।

अनुगमनपछि टोलीले नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तुस्थितिबारे अन्तरक्रिया गरेका थिए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बर्सेनि बाढीको चपेटामा पर्दै आएको रौतहट पूर्व वागमती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दीर्घकालीन योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको उनले बताए। त्यस्तै, टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताएका छन्। सरकार अब पुनर्निर्माणतिर लागेको  गृहमन्त्री थापाले बताए।

त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने र तत्काल चन्द्रनिगाहपुरमा स्वास्थ शिबिर क्याम्प लगाउने जानकारी दिए।

त्यस्तै, ऊर्जा मन्त्री पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए।

हाल सम्म रौतहटमा आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन्। भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल ढोकाखोलेपछि पानीको सहत घटेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन्। लालबकैया र वागमतीको बाँध भत्केपछि गौर नगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुर्‍याएको छ।

यता, अनुगमनमा आएका मन्त्रीहरूको जम्बो टोली खाली हात आए र आश्वान दिएर फर्केको भन्दै रौतहटका बाढी पीडिहरूले गुनासो गरेका छन्। बाढीपीडितको अवस्थासमेत नबुझी फर्किएकोमा उनीहरु चिन्तित भएका छन्। बाढीपीडित राहत कुरेर बसेको अवस्थामा मन्त्रीको टोली आफ्नो समस्यासमेत नबुझ गएको भन्दै उनीहरू आक्रोशित भएका छन्। बस्ती अझै पनि डुवानमा रहेको र २ फिटभन्दा बढी पानी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.