|

पोखरा : आडैमा रातो माटो र कमेरोले लपक्क लिपेका घरहरू। नजिकै पानी पोखरी निर्माणाधिन छ। ठुला ठुला तामा र सुन जस्तै देखिने जलप लगाएर बनाइएको सनाईँ, दमाहा, ट्याम्कुलो, झ्याली, नसिङ्गाले भरिएको छ। वरिपरी तारबारले घेरिएको छ। पारी हेर्दा माछापुच्छ्रे र अन्नपूर्ण मुस्कुराइरहेको देखिने। यो ठाउँ हो कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरा गाउँमा बनेको पञ्चेबाजा पार्क।  

पदमार्गको रुपमा विकास भएको डाँडागाउँमा होमस्टे पनि छ। आन्तरिक तथा बाह्य पर्यटकहरु अहिले होमस्टेमा बस्न जान थालेका छन्। तिनै पर्यटकलाई लोभ्याउन र गाउँ बस्ने वातावरण बनाउन गाउँलेले पञ्चेबाजा पार्क निर्माण गरेका हुन्।

‘गाउँमा पर्यटकीय गतिविधि बढ्न थाल्यो,’ वडा अध्यक्ष हरिश्चन्द्र ढुंगानाले भने, ‘पर्यटकहरुको गतिविधि बढाउन, गाउँ आउने वातावरण बढाउन पार्क बनायौँ।’ वडा अध्यक्ष ढुंगानाका अनुसार उक्त पार्कको क्षेत्र विस्तार गरेर परम्परागत रुपमा गाउँमा चलिआएका ढिकी, जाँतो, कोल पनि निर्माणको तयारी थालिएको छ।

पार्कमा निर्माण भएका पञ्चेबाजाका सबै सामानहरु तामाबाट बनाइएको छ। ‘तीनसय किलो तामा पगालेर हामीले बाजाहरु बनाएर ल्याएर राख्यौँ, बाजा बनाउन मुस्ताङबाट कालीगढ ल्याइयो। सबै गरेर बाजाहरु नौ वटा बनेको छ,’ पार्क निर्माण समितिका अध्यक्ष सुनील दाहालले भने। पार्क निर्माणका लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले १५ लाख रुपैयाँ  सहयोग गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.