|

पथरी (मोरङ) : मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा बस र पिकअप ठोक्किँदा २ जनाको मृत्यु भएको छ। घटनामा ३० जना घाइते भएका छन्।

मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी-३ का ३१ वर्षीय टिकाराम थापा छन्। अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। अनुहारमा गम्भीर चोट लागेका कारण एक जनाको पहिचान भएको छैन। एकजनाको घटनास्थलमै र अर्काको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

विहीवार विहान ९:१० बजेको समयमा कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जीबजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्वरको पिकअप ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो। 

तीव्र गतिमा रहेका बस र पिकअप ठोक्किँदा बस सडकमा पल्टिएको थियो। बस र पिकअपको अगाडीको भाग पूरै कुच्चिएको छ। बसका सब सिसाहरु फुटेका छन्। अगाडीको चक्कासमेत निस्किएको छ।

घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ अस्पताल लगिएको थियो। पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलासहितका जनप्रतिनिधिले घाइतेहरुको उद्धार गर्दै उपचारमा पहल गरेका थिए।

कानेपोखरी-४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, कानेपोखरी ३ का मित्र दहालका छोरा नाम नखुलेका व्यक्तिसहित १० जनालाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, कानेपोखरी ५ की कविसा दहाल, कानेपोखरी ४ का सरण राई र नगेन्द्र कार्की, पथरीशनिश्चरे ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ।

झापा हल्दिवारीका टेकबहादुर भुसाल, विर्तामोडका अविशेक कार्की, श्याम कार्की, विर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंग, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरी सहित घाइते रहेको पथरी अस्पतालबाट जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.