|

पर्वत : आफू बस्दै आएको घरको समेत सरसफाइ नगर्दा कतिपय घरहरू दुर्गन्धित, कीटाणुयुक्त र कुरूप देखिन्छन्। हामीहरू आफ्नै घरसहित आफू बस्ने कोठाको सरसफाइ गर्न समेत चुकिरहेका हुन्छौँ, बाहिरी वातावरणको त कुरा नै नगरौँ।

तर, म्याग्दीको बेनी नगरपालिकाका स्थानीयले भने हिलो माटोमा गुडेका सवारीले कालोपत्रे गरेको सडक फोहोर भएको भन्दै सडकमा सवारी गुडाउन रोक लगाएका छन्। स्थानीयले नगरपालिकाको वडा नं. ८ कालीपुलको पुरानो बजारदेखि पर्वत बेनी जोड्ने कालीपुलको सडकमा बाँसका गराला बाँधेर सडक अवरुद्ध पारेका हुन्।

मूल सडकमा सवारीको आवागमन बढी भएर जाम हुने बेलामा मोटरसाइकल, स्कुटर, जीप, ट्याक्सी लगायतका साना र हलुका सवारी साधनहरू उक्त बाटोबाट गुड्ने गरेका छन्। अहिले बर्खा याम भएका कारण उक्त सडकको छेउछाउको कच्ची सडकमा रोपाइँ गर्ने जस्तै गरी दलदले हिलो जम्मा भएको छ। हिलो सडकबाट गुडेर गएका सवारीहरू कालोपत्रेमा प्रवेश गर्दा सडक नै फोहोर हुने भन्दै सडक आसपासमा घर भएका स्थानीयवासीले एक हप्तादेखि सडक बन्द गरिरहेका हुन्।

‘यो बाटोको छेउमा हेरीनसक्नुको हिलो छ, त्यही हिलोमा टेकेर आउने सवारीले यताको सबै सडक फोहोर गर्छन्, सवारीहरूले मूल सडकको प्रयोग गरेमा टोल र बाटो सफा रहन्छ भनेर हामीहरूले सडक बन्द गराएका हौँ’ स्थानीय हर्कमान पाइजाले भने, ‘हिउँदको बेलामा त सजिलै गुडिरहेका थिए नि। अहिले कच्ची बाटोको हिलो सडक र बस्तीमा आउने भएकाले बाध्य भएर यो बाटोमा सवारी गुडाउन अवरोध गरेका हौँ।’

उनीहरूले कालीपुलको पुरानो बजारदेखि पर्वत बेनी जोड्ने पक्की पुल जाने वैकल्पिक सडक अन्तरगत झोलुङ्गे पुल क्षेत्रमा बाँसको गरालो हालेका छन्। सडक अवरुद्ध गरिँदा यातायात सञ्चालन गर्न समस्या भइरहेको यसको समाधानको लागि स्थानीय प्रशासनले पहल नगरेको यातायात व्यवसायीहरूले बताएका छन्। ‘बस्ती र सडक फोहोर हुन्छ भनेर बाटो त रोक्न पाइएन। प्रहरी र प्रशासनले सडक खुलाउन पहल गर्नुपर्नेमा मौन बसेका छन्’ ट्याक्सी चालक हरिकुमार श्रेष्ठले भने।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बाटो अवरोध भएको सूचना  पाएको बताउँदै यस विषयमा प्रहरीले बुझ्ने र समस्या समाधानको लागि आवश्यक पहल गरेर बाटो सुचारु गराउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.