|

बैतडी : सुदूरपश्चिममा बुधबारदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ। धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ।

साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ। साउनको महिना देवी देवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पं दयाकृष्ण पन्तले  बताए। उनले भने, 'साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्। हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।' 

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। आजदेखि भक्तजनले बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ ।

सहर बजारतिर भने छोरीचेलीलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने प्रचलन छ। यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। साउन महिनालाई पवित्र महिना मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यसैले यस महिनाभरि खास गरी विवाहिताले आफ्नो परिवारका सदस्यकाे सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजा आराधना गर्छन्। 

साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्। काठमाडौंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाको विशेष घुइँचो लाग्छ। साउनमा महिला हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन्। यसैबीच सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍यालो हाल्ने चलन छ। 

हर्‍यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ। साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍यालो हाल्ने गरिएको पं पन्तले बताए। 

उनले भने, 'देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर हर्‍यालो हाल्ने गरिन्छ। संक्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दान दक्षिणा दिने पनि गरिन्छ। त्यस्तै साउनमा खीर पकाएर खाने तथा पराइ घरगएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ। यससँगै साउनको महिनादेखि चाडपर्व सुरू भएको समेत मानिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.