हुम्ला : जिल्लाको सर्केगाढ गाउँपालिका ७ रोडिकोट निवासी २२ वर्षीय सन्तोष छत्यालले नयाँ जीवन पाएका छन्।
आन्द्रामा प्वाल परेर संक्रमण बढन थालेका बिरामी छत्याललाई सुविधा सम्पन्न अस्पतालमा लैजानको लागि जिल्लाका स्वाथ्यकर्मीले रिफर गरेका थिए। तर, लगातार वर्षाका कारणले चार दिनदेखि सिमकोटमा थन्किनु पर्यो। नेपालगन्ज र सुर्खेतबाट हवाइ सेवा नियमितरूपमा सुचारु हुन नसक्दा बिरामीलाई उपचारका लागि सुविधायुक्त अस्पतालमा लैजान समस्या भयो।
बिरामीलाई बचाउनको लागि पनि बिरामीका आफन्तले मन्जुर गरेपछि आन्द्रामा प्वाल परेको बिरामीको पहिलो पटक शल्यक्रिया गरियो। बिरामी छत्यालको पेट माथिबाट तलसम्म चिरेर आन्द्राको प्वालमा घुसाएर सफा गरेको र आन्दालाई टालेको जिल्ला स्वास्थ्य कार्यालयका डा. दुर्गा सुर्खालीले बताए। उनका अनुसार यस्तो जटिल अपरेशन जिल्ला अस्पतालमा नै पहिलो पटक गरिएको हो। उनको दुई घण्टा लामो जटिल शल्यक्रियाबाट जीवन बचाइएको शल्यक्रियामा संलग्न चिकित्सकहरूले बताएका छन्।
छत्यालको आन्द्राको भित्री भागमा प्वाल परेपछि खाएको खानेकुरा पाचन नभएर जस्ताको तस्तै दिशाको रूपमा बाहिरिने समस्या थियो। जसले गर्दा पेटमा सक्रमण बढन थालेपछि बाध्य भएर शल्यक्रिया गरिएको आफन्तले बताएका छन्।
चेकजाँच गर्दा पेटभित्र रहेको आन्द्रामा प्वाल परेको पत्ता लागेपछि जिल्ला बाहिर आफूले रिफर गरेको तर प्रतिकूल मौसम भएपछि बिरामीलाई बाहिर जान समस्या भएपछि अस्पतालमा नै शल्यक्रिया गरिएको प्रमुख डा. सुरर्खालीले बताए। उनका अनुसार आन्द्रामा प्वाल परेको गम्भीर स्वास्थ्य समस्या भएको बिरामीलाई सीमित स्रोतसाधनको उचित व्यवस्थापन गरी विशेषज्ञ डा. सिदार्थ खातीको नेतृत्वमा डा. दुर्गा सुर्खाली, डा.टासी लामा र सरीता वोहोरालगायत अस्पतालको टिमले सफल शल्यक्रिया गरेको हो।
छत्यालको समयमै शल्यक्रिया नभएमा ज्यान जाने सक्ने खतरा रहेको डा. टसी लामाले बताए। बिरामीसँग आफन्तसँग राया लिएर जिल्लामै सीमित स्रोतसाधानको प्रयोग गरी शल्यक्रिया गरिएको उनको भनाइ छ। आन्द्राको प्वालका कारण छत्याललाई पेटभित्रै संक्रमण बढ्न थालेपछि बाध्य भएर शल्यक्रिया गर्न बाध्य भएको चिकित्सहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।