सिके राउतझैँ आउने हो भने सरकार वार्तामा बस्न तयार

|
फाइल तस्बिर

काठमाडौं : सरकारले हिंसा त्यागेर आउन तयार भएको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता हुने जनाएको छ । 

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै फेरि बन्दुक भिरेर जंगल पस्ने बाटो खोल्न वार्ता नगर्ने स्पष्ट पारे। 

‘सरकार वार्ताका लागि तयार छ। पक्राउ परेका मान्छे छाडेर फेरि बन्दुक भिर्न–भिराउन वार्ता हुँदैन’, उनले भने, ‘अनौपचारिक वार्ता त चलिरहन्छ। अहिले पनि भइरहेको छ। वार्ता चाहिँ गर्ने तर निष्कर्शमा नपुग्ने हो भने बस्नुको कुनै अर्थ हुँदैन।’

विप्लवप्रति कडारुपमा प्रस्तुत भएका बाँस्कोटाले दुनियाँलाई भुलभुलैयामा पार्नैका लागि वार्ता नहुने बताए । ‘दुनियाँलाई भुलभुलैयामा पार्न या वा निष्कर्शमा नपुग्ने वार्तामा बस्ने कुरै हुन्न’, उनले भने, ‘गन्तब्यबिनाको वार्ताले हिंसालाई वैधता दिन्छ । संविधान र राज्य व्यवस्था नै काम नलाग्ने बताउँदै हिँड्नेका कुरा अनुचित र गैरजिम्मेवार हुन्। असम्भव कुरामा वार्ता हुँदैन।’

मन्त्री बाँस्कोटाले तराईमा अलग राज्य बनाउने अभियानमा हिँडेका सिके राउत मूलधारमा फर्किएझैँ फर्किने हो भने वार्ता हुने बताए । ‘सिके राउतझैँ शान्तिपूर्ण राजनीतिमा आउने हो भने वार्ता हुन्छ’, उनले भने, ‘स्पष्ट भएर आएमा वार्ता गर्न तयार छौँ । पहिले जस्तो छलाङ र महाविपत्तिको चक्रमा फेरि देशलाई लैजान चाहँदैनौँ।’

मन्त्री बाँस्कोटाले हिंसाको बाटो छाड्ने हो भने एक मिनेटमै कुरा मिल्ने बताए। ‘हिंसा छोडियो, संविधान मानियो, प्रतिस्पर्धामा आइयो भन्नुहुन्छ एकै मिनेटमा कुरा सकिन्छ’, उनले भने, ‘यसमा अलमलिने कुनै कुरा छैन, तर हिंसासहित वार्ता हुँदैन। शान्तिपूर्ण बाटोमा आउनुहुन्छ भने हमेसा स्वागत छ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.