|
फाइल फोटो

जुम्ला  : जुम्लाको तातोपानी गाउँपालिका–५ ऐरेनीमा होमस्टे सञ्चालनका नाममा आएको २८ लाख रुपैयाँ राजनीतिक कार्यकर्तालाई बाँडिएको छ। कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन गर्न २८ लाख बजेट उपलब्ध गराएको हो।

त्यसमा चार लाख बराबरको जनश्रमदान गर्ने भनिए पनि श्रमदान नै नगरी उक्त रकम तातोपानी गाउँपालिका–४ र ५ वडाका केही नेकपाका कार्यकर्ताले बाँडीचुँडी गरेर खाएको बताइएको छ। होमस्टे सञ्चालनका लागि नेकपाका स्थानीय कार्यकर्ताको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा तातोपानी गाउँपालिकाका उपाध्यक्षका श्रीमान् नेकपा कार्यकर्ता लक्ष्मीप्रसाद उपाध्याय अध्यक्ष, गंगा चौलागाईं उपाध्यक्ष, नेकपा जुम्लाका जिल्ला अध्यक्षकी पत्नी पूर्वराज्यमन्त्री गोमा कुँवर सचिव, तत्कालीन एमाले कर्मचारी संगठनका सचिवकी पत्नी जोशना आचार्य कोषाध्यक्ष र अन्य नेकपाकै कार्यकर्ता सदस्य छन्। होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले तातोपानी–५ ऐरेनीलाई उपयुक्त स्थान भन्दै तोकेको थियो। वडा नम्बर ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले भने त्यसको विरोध गरेका थिए।

उनले कार्यकर्तालाई वितरण गर्नकै लागि रकम निकासा गरी भागबन्डा गरिएको बताए। पूर्वराज्यमन्त्री गोमा कुँवर सचिव रहेको समितिले राजनीतिमा लागेका स्थानीय कार्यकर्तालाई त्यसमा संलग्न गराएको आरोप छ।

प्रदेश सरकारले उपलब्ध गराएको २८ लाख खर्च गरिए पनि होमस्टे भने सञ्चालनका लागि कुनै योजना र उपयुक्त स्थान तय गरिएको छैन। बिल, भरपाईबिना रकम निकासा गरिएको छ। स्थानीय बासिन्दालाई होमस्टेबारे तालिम दिइएको छैन।

होमस्टे सञ्चालन गर्ने व्यक्तिलाई अन्य स्थानका होमस्टेको अवलोकन गराउनुपर्ने, तालिम दिनुपर्ने भए पनि कुनै भ्रमण र तालिम नदिइएको स्थानीय मुनबहादुर हमालले बताए। हमालले भने, 'पाहुनाको स्वागत–सत्कार, खानपिन, शौचालय सरसफाइ सम्बन्धी सामान्य जानकारी पनि दिइएको छैन।’

होमस्टेबारे कुनै योजनाबिना नै रकम बाँडेर खानु सरासर भ्रष्टाचारका रूपमा लिइएको छ। समितिका एक सदस्यले भने सबै कुरा व्यवस्थित गर्न केही समय लाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.