|

बैतडी : बहुमतको दम्भका कारण पाटन नगरपालिकाको बजेट समयमा आउन नसकेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताएक छन्।

आर्थिक वर्ष २०७६/७७ को बजेट समयमा नआउनुको कारणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख चन्दले विगतदेखि आफूले सहमतिका आधारमा बजेट पारित गर्ने गरेको र अहिले पनि सहमतिकै आधारमा बजेट पारित गर्न खोज्दा बहुमतको आडमा नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यले अशोभनीय व्यवहार गरेको उनले बताए।

नगर उपप्रमुखले नगरसभामा पेस गरेको बजेटका बारेमा आफूले छलफलका लागि निर्देशन दिएको भए पनि केही वडा अध्यक्षले आफूखुशी बजेट ल्याएको उनले आरोप लगाए। आफूले सहमतिका आधारमा बजेट प्रस्तुत गर्न खोज्दा नगरसभा स्थगन गरेर सभाबाट बाहिर निस्केको तर त्यो कुरा रजिष्टरमा समेत लेख्न नदिएको उनको आरोप छ।

स्थानीय सरकारमा प्रतिपक्षीको कुनै परिकल्पना नभए पनि नेकपाबाट निर्वाचित पदाधिकारीले पेलेर जाने रणनीति लिएका कारण पाटन नगरपालिकाको बजेट समयमा आउन नसकेको उनले बताए।

आफू नगरपालिकाको विकासको पक्षमा रहेको दाबी गर्दै नगरप्रमुख चन्दले आफूले ल्याउन लागेका राम्रा योजनाहरु पनि बहुमतका आडमा स्वीकृत हुन नदिएको उनको आरोप छ। गत असार ३१ गते नगरसभामा प्रस्तुत भएको बजेटमा असहमति भए कारण सहित नगरप्रमुखलाई दिनुपर्ने प्रावधान भए पनि जे पनि बहुमतकै आडमा गर्न खोज्ने प्रवृतिले समस्या निम्त्याएको उनले बताए।

स्थानीय सरकार संचालन ऐन, पाटन नगरपालिकाको सभा सञ्चालन कार्यविधि, प्रदेश सरकारले बनाएको सभा सञ्चालन कार्यविधिले नगरप्रमुखलाई बजेट पारित गर्ने अधिकार दिएको भए पनि कानुनविपरीत केही सदस्यले बजेट पारित भएको भन्दै सामाजिक सञ्जालमा राखेको प्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगरप्रमुख चन्दले बताए। आफू अझै पनि सहमतिका आधारमा पाटन नगरपालिकाको बजेटलाई पारित गर्ने मनस्थितीमा रहेको र त्यसो हुन नदिए कानुनी अधिकार प्रयोग गरी अघि बढ्ने उनले बताए।

नेकपाबाट निर्वाचित पदाधिकारीले भने बहुमतले बजेट पारित भएको दाबी गर्दै आएका छन्। पाटनमा नगरप्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट विजयी भएका छन् भने कार्यपालिकामा नेकपाको बहुमत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.