|

काठमाडौं : सडक बालबालिकाको क्षेत्रमा क्रियाशील रहँदै आएको बाल सारथीले १३ औँ वार्षिकोत्सव मनाएको छ। राजधानीमा आयोजित एक समारोहबीच संस्थाले वार्षिकोत्सव कार्यक्रम गरेको हो । कार्यक्ररममा संस्थाका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

कार्यक्रमकी प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया मगरले राज्यले गर्ने काम बाल सारथीले गरिरहेको देख्दा राज्य निरीह जस्तै लागेको बताइन्।

'राज्यले बालबालिकालाई सहयोग गर्न नसिकरहेको बेला यस संस्थाले काम गरिरहँदा सरकारलाई लज्जाबोध भएको छ। सरकारले यस्तो संस्थालाई भरपुर सहयोग गर्नेछ,' उनले भनिन्।

बालबालिकको शिक्षा र खान पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउँदै उनले बालबालिकाको हितका लागि सरकारले कानुन बनाएर संस्थाको पहिचान गरी सहयोग गर्ने बताइन्।

त्यसैगरी, संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीले नेपालका धेरै बालबालिका शिक्षाबाट बञ्चित भएको बताउँदै उनीहरूको अधिकारका लागि संस्थाले काम गरिरहेको बताइन्। 'समाजमा यस्ता थुप्रै बालबालिका शिक्षाबाट बञ्चित छन्। देशभरका सम्पूर्ण बालबालिकाले उनीहरूले पढ्न खान पाउनुपर्छ', उनले भनिन्।

राज्यले बालबालिकालाई शिक्षा र खान लगाउन नदिँदा उनीहरू शिक्षाबाट बञ्चित भएको भन्दै उनले संस्थाले विभिन्न संघ र व्यक्तिसँग सहयोगबाट बाल सारथी सञ्चालन गरिरहेको बताइन्। संस्थाले बालबालिकालाई अगाडि बढाउनका लागि हरदम सहयोग गर्ने उनको भनाइ छ।

बाल सारथीले समाज कल्याणको काम गरिरहेको राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले बताए। 'राज्यले पो समाजको लागि काम गर्नुपर्छ तर, संस्थाले कल्याणको काम गरिरहेको छ', उनले भने । कल्याणकारी काम गर्न पक्ष र प्रतिपक्ष भन्न नहुने उनको भनाइ छ। 'समाजका लागि काम गर्ने मानिसलाई सदा सम्मान गर्न पाइयोस', उनले भने। 

भजन गर्ने ओठ भन्दा कर्म गर्ने हातको महत्व हुने  पूर्वरक्षा सचिव आत्माराम पाण्डले बताए। समाज निर्माणका लागि संघ संस्थाको अहम भूमिका हुने उनको भनाइ छ। संघ संस्थाले काम गरिरहँदा राज्य नभइरहेको अवस्था महसुस भएको उनले प्रतिक्रिया दिए । राज्यको उपस्थिति नहुँदा संघ संस्थाले काम गरिरहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.